Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्राइम वाच

‘सुगर ड्याडी’ अपराधः युवतीको ढाडमा तातो पुन्यौले डाम्थे, जाहेरी दिन डराउँछन् पीडित

मंगलबार, असोज १, २०८१

काठमाडौं– अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा म्याद थप गर्दै प्रहरीले अनुसन्धान जारी राखेका आशिष देउला उर्फ ‘सुगर ड्याडी’ले युवतीलाई पनि यातना दिने गरेको खुलेको छ। 

प्रहरीको सम्पर्कमा आएकी एक पीडित युवतीले देउलाबाट आफू प्रताडित भएको बताएकी छन्। प्रहरी स्रोतका अनुसार ति युवतीले देउला छुटेपछि फेरि यातना दिन सक्ने त्रासले जाहेरी दिन मानेकी छैनन्। 

अनुसन्धानमा रहेका देउलाविरुद्ध प्रताडित भएका युवालाई नै जाहेरी दिलाउन पनि प्रहरीलाई निक्कै सकस परेको थियो। 

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि पीडितहरु प्रहरीको सम्पर्कमा पुगेर यातनाको कथा सुनाउने भए पनि कानुनी प्रक्रियाका निम्ति दिने जाहेरीका लागि हिचकिचाउने गरेको खुलेको हो।

सम्पर्कमा आएकी युवतीलाई देउलाले गत वैशाखमा काठमाडौंको क्षेत्रपाटीबाट गाडीमा राखेर बूढानीलकण्ठस्थित आफ्नो घरमा लगेका थिए। पानीको पाइप जोड्ने पुन्यौ तताएर शरीरको पछाडिएको भागमा डामेको पाइएको छ। 

पछिल्लो पटक धादिङ घर भएका एक युवकले परिसरमा देउलाविरुद्ध जाहेरी दिएका छन्। 

देउलाले नाइट क्लबमा जाँदा नकाव लगाउँथे। तालु खुइलिएको, अनुहार चाउरिएको वृद्ध पुरुष देखिने नकाव लगाएर रोमान्स गर्थे।

गएर युवतीसँग रोमान्स गरेका भिडिओ र तस्वीरहरु सामाजिक सञ्जाल इन्स्टाग्राम र टिकटकमार्फत सार्वजनिक गर्ने गरेका थिए।

देउला पछिल्लो समय प्रि–फ्याब सम्बन्धी काम गर्ने गर्थे भने उनको बूढानीलकण्ठमा हार्डवेयरको पसल समेत रहेको पाइएको छ। परिवारका सदस्य पनि देउलाको यस्तो हर्कतमा बेखबर रहेको जानकारी प्रहरीले बटुलेको छ। उनीविरुद्धको अनुसन्धानमा प्रहरीले हरेक कोणबाट अध्ययन जारी राखेको छ।

देउलासहित टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी छ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्