Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

गोर्खा मिडियाको चेकमा हस्ताक्षर गर्ने रवि लामिछाने, उहाँ होइन!

मंगलबार, असोज १, २०८१

जब यो टिप्पणी सञ्जालमा शेयर हुनेछ, अनि यसमा आउने प्रतिक्रियाको पूर्वजानकारी छ। 

प्रष्टोक्ति छ– यो कुनै व्यक्ति लक्षित टिप्पणी होइन। यसको अर्थ हो– कानुनी प्रक्रिया, विधान र नैतिकताको पनि प्रश्न हुन्छ। 

यसमा फेरि अन्यलाई जोडेर अर्को प्रतिक्रिया आउला। प्रश्न उठ्ला– ७० बर्षसम्म कांग्रेस, एमाले, माओवादी अथवा नेताका नाममा नैतिकता देखिनस्, अहिले देखिस् भन्ने। 

यसलाई मेरो सामूहिक उत्तर छ– नैतिकताको जगमा उठेर राजनीतिको मैदानमा हाम फालेपछि यो प्रश्नका जायज हकदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हुन्छन्, हुनुपर्छ पनि।

उहाँका व्यक्तिगत विषयसँग सरोकार छैन। 

सार्वजनिक व्यक्ति, दुई पटक देशको उपप्रधान र गृहमन्त्री समेत भइसकेपछि अरुलाई जस्तै लामिछानेलाई प्रश्न गर्नु स्वभाविक हुनेछ। 

खासमा योभन्दा कडा प्रश्न गर्ने प्राधिकार लामिछानेलाई दुई पटक प्रकाण्ड मत दिएर जिताउने चितवन–२ का जनतालाई हुन्छ।

लामो समयसम्म लामिछानेको विषयमा सदन अबरोध भएपछि संसदीय छानबिन समिति बन्यो। त्यसले काम सकेर प्रतिवेदन मात्र होइन, केही सिफारिस पनि गरेको छ। 

त्यसबारेको सारको जानकारीसहित अगाडि बढौं। 

सहकारीको रकम गोर्खा मिडियामा भएको अपचलनबारे ८ वटा बुँदा छन्।

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा चितवन र सानोपाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरिएको छ। र, सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न भनिएको छ।

लामिछाने प्रवन्ध निर्देशक भएको १४ महिना अवधिमा सूर्यदर्शनसहितका ५ वटा सहकारीको ६७ करोड रकम गोर्खा मिडियामा अपचलन भएको छ। सहकारीबाट रकम ल्याउन लामिछानेको भूमिका देखिएको छैन, तर गैरकानुनी रुपमा आएको रकम उनीमार्फत नै खर्च भएको छ।

समितिको प्रतिवेदनमा शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिमा भएकाहरु कम्पनीमा प्राप्त हुने रकमको जिम्मेवारीबाट भाग्न नमिल्ने प्रष्ट भनिएको छ।

अझ खातावाल हस्ताक्षरकर्ता (रवि) दायित्वबाट पन्छिन नमिल्ने भन्दै प्रतिवेदनमा रविको नामै किटान गरेर प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस भएको छ।

संसदीय समितिको प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

तर रास्वपा सभापति लामिछाने आफैं र नेताहरूले क्लिन चिट पाएको भनी प्रचार गरे। सामाजिक सञ्जालमा दुईथरी मत छन्, मिडियाका ब्रिफिङ तथ्यको कसीमा छन्।

गोर्खा मिडियामा सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा रकम दाखिला गर्ने रोशनी गुरुङ थुनामा छिन्। यो काम जीबीले गर्न लगाएका थिए होला तर त्यहि रकम देखाएर कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर बाँडफाँटमा १५ प्रतिशत लिने रवि लामिछाने उहाँ हो कि होइन? यो प्रश्न खडा हुन्छ।

संसदीय समितिमा लामिछानेले पोखराको सूर्यदर्शन या बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा जम्मा गर्ने रवि लामिछाने आफू नरहेको बयान दिएका थिए। त्यो सही नै ठहर भयो। तर, सहकारी अपचलन गरी आएको रकम शेयर देखाएर कम्पनीको स्वामित्व लिने अनि, कम्पनीमा रहेको ६७ करोड रुपैंयामा ४० लाखबाहेक सबै पैसा खर्च गर्ने हस्ताक्षर गर्ने रवि लामिछाने को हो? यो पनि प्रश्न छ।

जे होस्, टिप्पणीकार यो निचोडमा पुगेको छ कि, सहकारी ठगीको रकम अपचलन गरेको अथवा अहिले सदनमा रहेको र दोस्रो पटक चुनाव जितेर उपप्रधान तथा गृहमन्त्री बनिसकेको रवि लामिछाने उहाँ होइन। 

देश बनाउन हिँडेको रवि लामिछाने र तलब नपाएर भौतारिएका सहकर्मी पत्रकार साथीहरूको बिचल्ली पार्ने रवि लामिछाने एउटै हुन सक्तैन। गोर्खा मिडियाले २५ लाख रुपैंया घरभाडा तिर्न बाँकी हुँदा त्यसको सञ्चालक मध्यका एक अथवा प्रबन्ध निर्देशक रवि लामिछाने र उहाँ एउटै कसरी एउटै हुनसक्छ?

म त भन्छु १२ भाईको भाष्य बनाएर मिडियालाई गाली गर्न उक्साउने रवि लामिछाने र उहाँ पनि एउटै होइन। त्यो त गोर्खा मिडियाको रकम अपचलन गर्ने रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकता अध्यावधिक गर्नु अगाडिको रवि लामिछाने थियो। त्यो उहाँ हुनै सक्नुहुन्न।

गोर्खा मिडियाको रकम अपचलन गर्ने रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकता अध्यावधिक गर्नु अगाडिको रवि लामिछाने थियो। त्यो उहाँ होइन। 

उहाँ त त्यहि नम्बरको नागरिकता पुनः प्राप्त गरेपछि उपनिर्वाचनमा जित निकालेर आएपछि धोई पखाली गरेको रवि लामिछाने हो। अब देश उहाँले बनाउनुहुन्छ। न्याय उहाँले दिनुहुन्छ।

यति भन्दै ६ सय चानचुन शव्द यहिँ सक्छु– धन्यवाद। 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्