Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्रा अवलोकन

मंगलबार, असोज १, २०८१

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् । उनलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनीता डंगोलले स्वागत गरेकी थिइन् ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । 

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए । 

वर्षा र सहकालका देवताका रुपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्