Nic Ad Nic Ad
Nic Ad Nic Ad

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान

बुधबार, असोज २, २०८१

काठमाडौ - काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गरेकी छन् । प्रस्थानका क्रममा उनलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए ।

बिदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौतमसहित अधिकारीहरू गएका थिए ।

उनीसँगै मनोनयनमा भएका परशुराम नगरपालिकाका प्रमुख भरत जोशी, युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि  प्रस्थान गरेका थिए ।

भाद्र २७ गते महासभाको औपचारिक उद्घाटन भइसकेको छ । ‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ भन्ने नाराका साथ महासभा सुरु भएको हो ।

महासभा बैठकअन्तर्गतको समिट अफ द फ्युचरमा उपप्रमुख सहभागी हुन उनलाई काठमाडौँस्थित युएनको प्रतिनिधि कार्यालय र नेपाल सरकारले, युवा नेतृत्व प्रतिनिधिका रूपमा मनोनयन गरेको हो ।

महासभाको कार्यक्रम तालिकाअनुसार असोज ६ र ७ गतेका कार्यक्रममा उपप्रमुख सहभागी हुनेछिन् । उपप्रमुखको सचिवालय प्रमुख गौतमका अनुसार समिटका अतिरिक्त संयुक्त राष्ट्र संघका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा उपप्रमुख डंगोलले सहभागिता जनाउनेछिन् ।

औपचारिक कार्यक्रम सुरु भए पनि उच्चस्तरीय छलफल भने असोज ८ गते देखि सुरु हुनेछ । यो छलफल असोज १२ गतेसम्म चल्नेछ । महासभाको समापन असोज १४ मा हुने कार्यतालिका छ । नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

विश्वव्यापी रूपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय महासभामा समेटिएका छन् । यी विषयलाई केन्द्रमा राखेर सञ्चालन हुने विभिन्न चरणमा कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनेछन् ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्