Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल ओमानसँग १ विकेटले पराजित

बिहीबार, असोज ३, २०८१

काठमाडौं - गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम २ ओभरमा १ विकेट रहँदा १० रन चाहिएको थियो । ४९ औं ओभरमा करण केसीले २ रन मात्र दिए । अन्तिम ओभरमा ८ रन आवश्यक पर्दा शकिल अहमदले दोस्रो बलमा चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्याए । अन्तिम २ बलमा २ रन आवश्यक हुँदा कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई जित दिलाए ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर सिंहलाई सन्दिप लामिछानेले आउट गराएका थिए । सिंहले ४९ बलमा ४१ रन बनाएर आउट भए । सिंह १६औं ओभरको पहिलो बलमा लामिछानेको एलबिडब्लु धरापमा परेका हुन् ।

ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे । प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । प्रजापती ५२ बलमा ३६ रन बनाउदै आउट भएका थिए । प्रजापतीले अर्का ओपनर सिंहसँग मिलेर ७५ रनको साझेदारी गरेका थिए । प्रजापती २०औं ओभरको दोस्रो बलमा आउट भएका थिए ।

कप्तान अकिब इल्यमसले ओमानले तेस्रो विकेटका रुपमा ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको थियो । इल्यास २५औं ओभरको तेस्रो बलमा गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् । इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे ।

नेपालका लागि गुलसन झाले १० ओभरमा ४७ रन खर्चिएर ५ विकेट लिए । करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे । कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए । रोहित महत्वपुर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए ।

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए । झाले ३१ बलमा आफ्नो चौथो ओडिआई अर्धशतक पूरा गरेका थिए । महतवपुर्ण रन बनाउदै झा फैयज बटको बलमा आयान खानबाट समातिए ।

एक समय ३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे । आरिफले ८८ बलमा ३५ रन बनाउदै सकिल अहमदको बलमा कट बिहाइन्ड भए ।

सोमपाल कामी ८ बलमा २० रनमा आउट हुदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे । त्यसअघि ओपनर अर्जुन साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए ।

करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउँदै आउट भएका हुन् । अर्जुन कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए ।

अर्का ओपनर आसिफ शोयब खानको बलमा ११ औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउँदै आउट भएका हुन् ।

ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए ।

जित पछि ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ । पराजित नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्