गफ र भाषणले मात्रै सुशासन आउँदैन : शेखर कोइराला
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको जगबाट मात्र नेपालको सुन्दर भविष्य निर्माण गर्न सकिने बताएका छन् ।
नवौँ संविधान दिवसको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्यका लागि सामाजिक न्याय, आर्थिक वृद्धि र सुशासनका पक्षमा केवल गफ र भाषणमात्रै नगरेर व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् ।
नेता कोइरालाले अग्रज पुस्ताको गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहने उल्लेख गर्दै वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरूलाई सम्बोधन गरेको बताएका छन् । उनले भनेका छन्, ‘राज्यको भूमिका र सीमा मात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ ।’
नागरिकको सम्प्रभुतालाई मूलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयातनले ऐन, कानुन निर्माण र नीतिगत निर्णय लिने ठाउँमा सामाजिकरुपले वञ्चना परेका सबै समूहको प्रतिनिधित्व हुनु सामान्य कुरा नभएको कोइरालाको भनाइ छ ।
उनले महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको समूह राष्ट्र निर्माणको प्रक्रियामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको बताएका छन् ।
नेता कोइरालाले नौ वर्ष अगाडि जारी भएको संविधानलाई इमानदारीपूर्वक लागू गर्न यस कालखण्डमा सत्तामा पुगेका नेताहरूले खासै ध्यान पुर्याउन नसकेको उल्लेख गर्दै एकात्मक राज्यको सोच र सिंहदरबार नै सबैथोक हो भन्ने मानसिकताबाट मुक्त हुन सक्नुपर्ने उल्लेख गरेका छन् ।