Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशरथ रंगशाला जहाँ फूटबल कम र अरु सबै थोक धेरै हुन्छ

बिहीबार, असोज ३, २०८१

काठमाडौँ- नेपालको एक मात्रै अन्तर्राष्ट्रिय मान्यताप्राप्त दशरथ रंगशालामा फुटबलबाहेक रग्बी, कन्सर्टसँगै विश्वविद्यालयका विभिन्न कार्यक्रम आयोजना हुँदा सर्वत्र आलोचना हुँदै आएको छ । पाँच महिनाअघि मात्रै मैदानको दुबो स्तरीय नभएको, माटो सतह नमिलेको, फ्लडलाइट स्तरीय नभएको र सुरक्षाको कारण देखाउँदै एसियन फुटबल महासंघ (एएफसी)ले मान्यता खोसेको थियो । २९ साउनमा एएफसी च्यालेन्ज लिग छनोट खेल्दा वर्षा भयो र मैदान पूरै हिलाम्मे भयो । जसको सर्वत्र आलोचना भयो ।

अहिले त्यही मैदानमा एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता आयोजना हुने भएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता १८ र १९ असोजमा हुँदै छ । नेपालमै आयोजना भएको सबैभन्दा ठूलो प्रतियोगिता दाबी गरिरहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रग्बीलाई दिएको स्वीकृति विवादमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडाले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मान्यता खोस्ने काम भएको आरोप लगाए । ‘भर्खरै एसियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालालाई मान्यता दिएको थियो । अब रग्बी आयोजना गरेर पुनः बिगार्ने र अन्तर्राष्ट्रिय मान्यता खोस्ने काम हुँदै छ,’ खतिवडाले  भने । 

२९ साउनमा दशरथ रगंंशालामा एएफसी च्यालेन्ज लिग आयोजना भएको थियो । नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीले खेल्दा मैदान हिलाम्मे भएपछि चौतर्फी आलोचना भयो । प्रधानमन्त्री केपी ओलीले दशरथ रंगशालामा फुटबलबाहेक अन्य खेल नगर्न राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन नै दिए । १३ भदौमा महिला भलिबल टोलीलाई पुरस्कार वितरण गर्दा दशरथ रंगशालाको दुरुपयोग भएको र फुटबलबाहेकका खेल अन्य मैदानमा गर्न निर्देशन दिए । राखेपले भने प्रतियोगिताका लागि रग्बी संघबाट पहिलो माग भएकाले स्वीकृति दिएको बताएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘हामीले प्रतियोगिता गर्न धेरै पहिला स्वीकृति दियौँ । त्यहीअनुसार प्रतियोगिता गर्न नेपालले स्वीकृति पाएको थियो । अन्तिम समयमा रद्द गर्दा अन्तर्राष्ट्रिय म्यासेज कमजोर हुने भयो,’ उनले भने । 

रग्बी संघका अनुसार पुरुष सेभेन्सतर्फ १४ वटा टिम र महिला सेभेन्समा आठवटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुने महासचिव गोविन्द घिमिरेले बताए । उनले फुटबलभन्दा फरक खेल भएकाले मैदान नबिग्रने प्रस्ट पारे ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्