Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्नपूर्ण न्युरो अस्पतालमा काठमाडौं महानगरको छड्के, किन दियो ७ दिने अल्टिमेटम? 

बिहीबार, असोज ३, २०८१

काठमाडौं– माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा छड्के चेकमा पुगेको काठमाडौं महानगरपालिकाले मेडिकलजन्य फोहोर व्यवस्थापन गर्न ७ दिनको अल्टिमेटम दिएको छ। 

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो। 

महानगरपालिकाले फोहर व्यवस्थापन अवस्था हेरेको यो तेस्रो वर्ष हो। 

दोस्रो वर्षपछि महानगरपालिकाले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखासँगको समन्वयमा समस्या देखिएका अस्पतालहरुबाट फोहर व्यवस्थापनका फोकल पर्सनहरुलाई जम्मा गराएर तालिम पनि दिएको थियो। 

यस तालिममा अन्नपूर्ण न्यूरो अस्पतालबाट २ जनाले भाग लिएका थिए। यससँगै हरेक पटक सुधारको अवसर दिने गरिएको छ। 

यसरी दिइएको निर्देशनबाट सामान्य सुधार आएको छ। तर, अस्पतालको दायित्वमा जति काम पर्छन् त्यो भने हुन सकेको छैन। 

अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना बनाएको नपाइएको अनुगमनमा पुगेका महानगरका कर्मचारीले बताए। 

आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरुपता नभेटिएको बताइएको छ। 

‘बिनको रङ्ग संकेत फरक थियो। सर्वसाधारणले कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानीकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको छ, यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था देखिएन’, अनुगमनकर्ता कर्मचारीले भने। 

विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएको फोहर थियो भने यससँगै पानी बगिरहेको थियो। 

सबैभन्दा महत्वपूर्ण कुरा भनेको, फोहर संकलन केन्द्र भूमिगत तलामा रहेको पाइयो तर त्यो भूमिगत तला पार्किङ् प्रयोजनका लागि हो। 

यो अवस्था देखिसकेपछि अनुगमन टोलीले हानीकारक फोहरलाई सामान्य फोहरमा मिसिनबाट रोक्न, संक्रमित फोहर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेश गर्न निर्देशन दिएको छ।

anugaman-2-1726730209.jpg
anugaman-1-1726730209.jpg
anugaman-1726730209.jpg
sirinch-1726730209.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्