राजावादी सुन्दरीः नीतिसँग नतमस्तक मिस नेपाल आश्मा केसीले किन रोजिन् राप्रपा?
काठमाडौं– राजनीतिप्रति खासै रुची नदेखाएकी बरु व्यावसायतिर सक्रिय मिस नेपाल वर्ल्ड २०२४ की उपाधी हात पार्ने आश्माकुमारी केसीले राजनीतिक दल रोजेकी छन्।
उनी राजावादी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य बनेकी छन्।
राप्रपाले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गर्दा आश्मा पनि परेकी छन्। राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा छनोट गरेको थियो।
पार्टीको निर्णइ अनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वको समितिले उनीहरुलाई छनोट गरेको हो।
छनौटका विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले १० पुरूष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरिएको थियो जसमा नेपाल सुन्दरी आश्मा पनि परिन्।
आश्माले मिस नेपालको ताज जित्दा लामो संघर्ष, लगानी र लगावले उपाधि पाएको बताएकी थिइन्। उनले अहिले राप्रपाको केन्द्रीय सदस्यमा छानिनुलाई पनि यसैको उपज ठानेकी होलिन्।
नयाँ पुस्ता र कलाकारसहितका पुस्ताले विकल्प मानिएका रास्वपा जस्तो दल छानिरहँदा आश्माले राप्रपालाई किन रोजिन् भन्ने चर्चा छ।
हरेक कुरा योजनाबद्ध ढंगबाट गर्न रुचाउँछिन् आश्मा। सोसियल वर्कमा ब्याचलर गरेकी उनी बोलक्कड छिन्।
आश्मा उद्यमी पनि हुन्। मिस नेपाल बन्नुअघि उद्यमी भनेर चिनाउने आश्माको परिचयमा राजनीतिकर्मी पनि थपिएको छ।
महिलाहरुका लागि आवश्यक सामग्रीको स्टोर चलाउने आश्माले ५ सयको लगानीमा स्टोर सुरु गरेकी थिइन्। २३ बर्षकी आश्मा वातावरण प्रेमी, शक्ति परियोजना चलाइरहेकी छन्।
उनी अहिले अभिनयमा जमेकी सुन्दर युवती नीति शाहकी डाइहार्ट फ्यान हुन्। उनले भनेकी थिइन्,‘म त नीति शाहसँग नतमस्तक हुन्छु।’