Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनमत पार्टी अध्यक्षको घरझगडाः सीके राउतको डिभोर्स निवेदन अदालतमा, पत्नी सुरक्षा मागेर प्रहरीमा

एकअर्कासँग सँगै बस्न नसक्ने भन्दै राउतले पत्नीसँग लिखित प्रस्तावको खेस्रा तयार गरेका थिए
बिहीबार, असोज ३, २०८१

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतको घरझगडा र सम्बन्ध विच्छेदको विषय सतहमा आएको छ।

०७९ को निर्वाचनमा मधेस प्रदेशमा धक्का दिँदै उदाएको पार्टी अध्यक्ष राउतकी पत्नी सोनी सिन्धु रानीले सुरक्षाको माग गरी प्रहरी प्रभाग इमाडोलमा उजुरी दिएकी छन्। 

उक्त उजुरी दर्ताका लागि आदेश भएको प्रहरी बृत्त सातदोबाटोका प्रहरी नायव उपरिक्षक (डीएसपी) चित्र भट्टराईले बताएका छन्। 

राउत पत्नी नै सुरक्षाको खोजीमा पुगेपछि यो विषयले सम्बन्ध विच्छेदको मुद्दालाई पनि चर्चामा ल्याएको छ।  

सिन्धुले पति राउतका कारण आफूलाई असुरक्षा भएको भनी उजुरी तयार पारेको प्रहरी स्रोतले जनाएको छ। 

यसअघि सम्बन्धमा खटपट आएपछि राउतले अदालतमा डिभोर्सको निवेदन दिएका थिए। 

श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा राउतले निवेदन दिएका थिए।

दुवै जनाका उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्।
श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख गर्दै राउतले मुद्दा हालेका थिए।

राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन्। यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ।

आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा उल्लेख गरेका थिए।

यसैबीच राउतले पत्नी सिन्धुसँग हिन्दी भाषामा सम्बन्धमा रहन नसक्ने अवस्थाको विषयमा एउटा खेस्रा तयार पारेको कागज पनि बाहिरिएको छ।

यसको तथ्य प्रमाणित आवश्यक रहे पनि पत्नी भारतीय परिवारमा जन्मेकी र हिन्दी मात्र बुझ्ने भएका कारण राउतले नै त्यो खेस्रा तयार पारेको दाबी गरिएको छ। 

यस विषयमा प्रकाशित एउटा समाचारका कारण सप्तरीबाट सञ्चालित शीर्षखबर नामको अनलाइनविरुद्ध राउतले प्रेस काउन्सिल, साइबर ब्युरोमा उजुरी दिएका छन् भने अदालत पनि जाने बताइएको थियो।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्