‘कमब्याट कमान्डर’ किरण!
काठमाडौं– ‘प्रहरीको उपत्यका प्रमुख को छ?’
यति बेलाको प्रश्नमा उत्तर आउँछ– एआईजी किरण बज्राचार्य।
नाम सुन्नेको मथिङ्गलले फरक छुट्याउँदैन।
‘अनि उहाँको पत्नी र छोराछोरी कति छन् नि?’
यसको उत्तर पाएपछि प्रश्नकर्ता ट्वाँ पर्न सक्छन्। उत्तर हो– उहाँ महिला हुनुहुन्छ।
नेपाल प्रहरीकी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यलाई झट्ट हेर्दा कसैले महिला नभन्ला पनि। फौजी संगठनको उपल्लो निकाय र त्यसमा पनि उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेकी किरणको लुक्स नै पुरुषको जस्तो देखिन्छ।
यो उपत्यका प्रहरीकी कमान्डर किरणको जागिरे जिम्मेवारीले दिएको ‘कमब्याट लुक्स’ हो।
भनिन्छ– जीवनमा महत्वपूर्ण कुरा विजय होइन युद्ध हो; यो जित्नु होइन तर राम्रोसँग लड्नु हो।’
कमान्डर किरणको प्रहरी जीवनकालका दशी प्रमाण पनि यस्तै गोरेटो र घुम्तीबाट गुज्रँदै यो तहसम्म पुगेको हो।
उनी हालका प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरकी ब्याची हुन्। एउटै ब्याच नम्बरमा इन्स्पेक्टर बनेकी थिइन्, २९ बर्षअघि।
उनका नाममा धेरै उपसर्ग जोडिन्छन्। ति कारणसहितका विशेषता थिए र छन्।
काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेतृत्व गरिरहेकी किरणको पहिलो विशेषतामा जोडिने उपसर्ग भनेकै आईजी प्रतिस्पर्धामा नेपाल प्रहरीमा पुगेकी पहिलो महिला अधिकारी।
यसअघि प्राविधिकतर्फ एआईजीसम्मको मात्र पदमा प्रहरी अस्पतालमा नेतृत्व भएपनि आईजीको प्रतिस्पर्धामा कोही थिएनन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व गर्ने पहिलो महिला प्रहरी अधिकारी दोस्रो उपसर्ग हो। उनी सीआईबी प्रमुख रहँदा सुन प्रकरणलगायतमा अब्बल अनुसन्धान भएका थिए।
तर सत्ता समीकरण भत्किँदा त्यसको कोपभाजन र प्रहरीभित्रको नै षडयन्त्रको एउटा चोटमा उनको सरुवा भयो।
तेस्रो उपसर्ग हो उपत्यकाको सुरक्षाको लिड गर्ने पहिलो महिला एआईजी। उनले अहिले तीनै जिल्लाको सुरक्षा चुस्ततालाई बलियो राखेकी छन्। उनमा त्यो क्षमता भएकै कारण पनि सरकार तथा मन्त्रिपरिषदले उपत्यका सुरक्षाको कमान्डर बनाएको थियो।
एआईजीको जिम्मेवारी र सरुवा मन्त्रिपरिषदले मात्र गर्न सक्छ।
उनीसँग विविध ठाउँमा कमान्ड गरेका अनुभव, अपराध अनुसन्धान गरेका अब्बलताका शिल्प पनि छन्।
उनी प्रहरी उपरिक्षक (एसपी) हुँदा भक्तपुरको कमान्डमा थिइन्। त्यहिँ उनले एउटा रोचक सम्मान अथवा पुरस्कार या अवार्ड जे भने पनि पाइन्।
उनी मानव वेचविखनविरुद्धको वर्ष हिरो घोषित भएकी थिइन्।
प्रहरी सेवामा लागेर यो अवार्ड पाउने निक्कै कमै मात्र हुन्छन्। नेपाल प्रहरीमा पनि कमै मात्र छन्।
अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव वेचविखनसम्वन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव वेचविखनविरुद्ध अभियान चलाएका विश्वभरका व्यक्तिहरुलाई सम्मान गर्ने गर्छ।
सन् २०१६ मा ‘टीआईपी रिपोर्ट हिरो’मा नेपालबाट किरण बज्राचार्य परेकी थिइन्।
एसपी हुँदै उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा रहँदा करिब २ वर्ष संगठित मानव तस्कर समूहलाई पक्राउ गर्न धेरै हदसम्म सफल भएकी थिइन्।
६० किलो सुन तस्करी अनुसन्धानको विषयमा किरणलाई सत्ता समीकरणको कोपभाजनमा पारिए पनि सरकारले नै अनुसन्धान कमान्डर बनाएको थियो।
खासगरी प्रचण्ड सरकारले अनुसन्धानमा प्रगति नभएपछि २० दिनपछि राजश्व अनुसन्धान विभागको फाइल किरण नेतृत्वको सीआईबीलाई दिने निर्णय गरेको थियो।
उनलाई त्यसमा प्रगति गर्न कठिन होला कि भन्ने लागेको थियो। तैपनि सरकारले जिम्मा लगाएको विषयबाट तर्किने भन्दा अनुसन्धानमा तम्सिने निर्णय गरेकी थिइन्।
उनले त्यसबेला भनेकी थिइन्,‘हामीले संगठितको कसुरमा अनुसन्धान गर्न जम्माजम्मी ६० दिनको समय हुन्छ। त्यसमा राजश्वमा बसेको दिन पनि गणना हुँदा जम्मा जम्मी करिब ४० दिन जति बाँकी होला। त्यसमा पनि सरकारी वकिल कार्यालयले फाइल अध्ययन गर्नुपर्ने हुँदा करिब एक साताअघि नै फाइल बुझाउनुपर्ने बाध्यता हुन्छ। त्यसो गर्दा हामीले अनुसन्धान गर्न पाउने करिब एक महिना जतिको समय होला।’
कम समयमा पनि अनुसन्धानको निचोडमा पुग्न सक्ने आत्मविश्वास जो कोही कमान्डरमा हुँदैन। तर, अनुसन्धानको निचोडमा पुग्न सकिएला त? भन्ने प्रश्नमा उनको उत्तर थियो,‘हामी पुग्छौं। अझ ६० दिनसम्म अनुसन्धान गर्न पाएको भए झन सहज हुन्थो। अहिले राजश्वले आफ्नोतर्फको काम सकेर हामीलाई जिम्मा लगाएपछिको बाँकी समयमा हामी दिनरात नभनी अुसन्धान गरेर अन्तिम बिन्दुसम्म पुग्छौं।’
वास्तवमा उनको कमान्डले गरेको अनुसन्धानले उपलब्धी पनि निकालेको थियो।
किरणले जागिरे जीवनका कोरेका साना–ठूला धेरै उपलब्धी छन्। अनि, उनले अपनाएको मूल मन्त्रचाहिँ ‘युद्ध जित्नको लागि कमान्डर चाहिन्छ, कानूनका प्राध्यापक होइन’ भन्ने जस्तै छन्। र, नेतृत्व गरिरहँदा उनको शिल्प पनि यहि लयको गतिमा देखिन्छ।