Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

बिहीबार, असोज ३, २०८१

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रूपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताएका छन् । 

विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायत चाड पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित प्राङ्गणमा सुरु भएको सुपथ मूल्य पसल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताए ।

चाडपर्वका अवसरमा बिहीबारदेखि देशका ७४ स्थानमा सहुलियत पसल सुरु गरिएको मन्त्री भण्डारीले कार्यक्रममा जानकारी गराए । सरकारले संविधान दिवसकै अवसर पारेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।मन्त्री भण्डारीले भने, ‘खाद्यवस्तुमा कृत्रिम अभाव, कार्टेलिङ सुन्नु नपरोस्, सात सय ५३ वटै स्थानीय तहमा कम्पनीको सशक्त उपस्थिति हुनुपर्छ, यसका लागि कार्यक्रम प्रस्ताव गर्नुस्, प्रस्तावअनुसार काम गर्न वित्तीय संस्थामा थुप्रिएको पैसा ऋण लिन सकिन्छ । नेपालीले तीन छाक खान पाउने गरी खाद्य सम्प्रभुता सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले सहुलियत पसलमा दैनिक जीवनमा आइपर्ने खाद्यान्न व्यवस्था गरिएको जानकारी दिए । उपभोक्ता अधिकारकर्मीद्वय ज्योति बानियाँ र माधव तिम्सिनालगायतले बजारमा मूल्य, गुणस्तर र नापतौलमा समस्या देखिने गरेकाले कम्पनीले चलाएको सुपथ मूल्य पसलमा यस्तो समस्या नहुने भएकाले यसलाई सबै स्थानीय तहमा बिस्तार गरिनुपर्नेमा जोड दिए ।

सुपथ मूल्य पसल बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म नै खोलिनुपर्नेमा पनि उपभोक्ता अधिकारकर्मीको जोड थियो । कार्यक्रममा विश्वखाद्य कार्यक्रमको सहयोगमा चामलमा पौष्टिक तत्त्व स्तरोन्नति गर्ने यन्त्र स्थापना गरिएको थियो । यन्त्रको पनि मन्त्री भण्डारीले आजैदेखि शुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्