हातमा चिराक लिएर बालेन पुलुकिसी नृत्यमा पथप्रदर्शक
काठमाडौँ - यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ ।
यस क्रममा काठमाडौँ महानगरपालिकाले आज सवः भकु, पुलुकिसी, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्यो । कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्शकका रूपमा सहभागिता जनाए ।
कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो । प्रमुख साहसँग पुलुकिसी नृत्यमा प्रवक्ता नवीन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगत सहभागी भएका थिए ।
यस अवसरमा उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूलाई आमन्त्रण गरिएको थियो । नृत्य अवलोकनका लागि महानगरपालिकाका नगर सभा सदस्यहरू, कर्मचारीहरू, परम्परागत नृत्यका गुठियारहरू र जन साधारणको बाक्लो उपस्थिति थियो ।