हतियार बोक्न सरकारले गर्यो कडाइ, इजाजत लिएको भएपनि सार्वजनिक स्थलमा लान निषेध
काठमाडौं- सरकारले इजाजत प्राप्त हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिंड्न रोक लगाएको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी संसद् भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत स्थलमा इजाजतप्राप्त व्यक्तिलाई हतियार बोकेर हिंड्न रोक लगाएको हो।
सरकारका तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडीले भदौ ३१ मा राजपत्रमा सूचना जारी गरेका हुन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा सहयोगी गत चैत पहिलो सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र गोलीगठ्ठासहित पक्राउ परेको पृष्ठभूमिमा सरकारले इजाजत लिएका व्यक्तिलाई पनि हतियार बोक्न कडाइ गरेको हो।
‘नेपाल सरकारले हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिंड्न इजाजत प्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र प्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने र इजाजत प्राप्त हतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजत लिएको कार्यालयमा इजाजत नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक सरकारी कार्यालय, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिकस्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा, जुलुस भएको स्थान, पुरातात्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानुनले निषेध गरेका अन्य क्षेत्रमा समेत लैजान निषेध गरेकोले यो सूचना प्रकाशित गरिएको छ,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ।