नेभिगेशन
राजनीति
विवादीत मेडिकल ब्यावसायी

दुर्गा प्रसाईँका खास चार विवाद, यस्तो छ प्रहरीले पक्राउ नगर्नुको कारण

माओवादी, एमाले र राजावादी हुँदै अहिले भाइरलम्यान बनेका विवादीत मेडिकल व्यावसायी

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पक्राउका लागि अनुमति दिए पनि विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छैन। 

भक्तपुरस्थित निवासबाट पत्रकार सम्मेलन र मिडिया अन्तरवार्ता दिइरहेका प्रसाईलाई पक्राउ नगर्नुको कारण प्रहरीले खुलाएको छैन। 

प्रसाईविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य बनाइएकी अर्की विवादीत पात्र ज्वाला संग्रौलाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

उच्च स्रोतका अनुसार प्रसाईंलाई प्रहरीले रेकीमा राखेर अन्य विषयमा पनि अनुसन्धानलाई भने जारी राखेको छ। 

प्रहरी प्रधान कार्यालयबाट नै उनलाई तत्काल पक्राउ नगरी अनुसन्धान गर्ने निधो भएको बताइन्छ। 

अहिले हिन्दू धर्म, ट्याक्सी चालक र विभिन्न क्षेत्रका मानिसले प्रसाईंको पक्राउपछि उपत्यकालगायतमा जोखिम निम्त्याउन सक्ने पनि प्रहरीको विश्लेषण छ। 

एमाले र माओवादीको तत्कालिन गठबन्धन हुनुअघि प्रसाईंको चर्चा चुलिएको थियो। उनको निवासमा हालका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खानासहितको वार्ता भएको थियो। 

यसपछि एकाएक प्रसाईंको चर्चा मिडियामा हुन थाल्यो। 

प्रसाईं विवादीत मात्र नभएर चर्चामा आउने अनेक हत्कण्डामा अगाडि देखिए। उनी चर्चामा आउने चार मुख्य कारण रहेका छन्। 

पहिलो, सर्वोच्च अदालतमा हतियारसहित पुगेपछि प्रसाईंबारे विवाद अझ तेजिलो भयो। 

प्रसाईंका दुई निजी सुरक्षागार्डं हतियारसहित सर्वोच्च अदालत छिर्ने क्रममा पक्राउ परेका थिए।

आफूसँग सम्बन्धित एक मुद्दाको सुनुवाइ हुने भएपछि प्रसाईं हतियारसहितका सुरक्षागार्ड लिएर अदालत प्रवेश गर्न खोजेका थिए।

हतियार लिएर जान नमिल्ने भन्दै अदालत गेटमै प्रसाईं र उनका सुरक्षागार्डलाई ड्यूटीमा खटिएका इन्स्पेक्टर विजय भण्डारीले रोकेका थिए। त्यसक्रममा केहीबेर वादविवादसमेत भएको थियो।hatiyar-1726814047.png
प्रसाईंले आफूसँग देशभर जहाँसुकै हतियार बोक्न मिल्ने गरी प्रशासनले दिएको इजाजत पत्र (लाइसेन्स) भएको जिकिर गरेका थिए। उनले भनेजस्तै लाइसेन्समा ‘नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न र प्रयोग गर्न पाउने’ उल्लेख रहेको थियो।

लाइसेन्स प्रदान गरिएको भन्दा फरक व्यक्तिले हतियार बोकेको भेटिएको थियो। 

लाइसेन्सको प्रतिलिपिमा दुुर्गा प्रसाईंको नाम छ। वाहकका रुपमा बुद्धशान्ति–३, झापाका दीपक खड्का उल्लेख थियो। अदालतमा प्रहरीले सोधपुछ गर्दा हतियार खड्काको साथमा थिएन।

प्रसाईंले देशभर बोक्न मिल्ने व्यहोरा उल्लेख भएको लाइसेन्स देखाएपछि प्रहरी अधिकृतहरुले अनौठो मानेका थिए। यसपछि यो विषय गृह मन्त्रालयमा रिपोर्टिङ भएको थियो।

दोस्रोचाहिँ, ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का नाममा ब्यांक तथा वित्तीय संस्थाविरुद्ध अभियान चलाउँदा प्रसाईं चर्चामा आए। 

‘ब्यांकले लिलामी गर्ने काम बन्द गरोस्। ब्यांकले जनताका घर जग्गा लिलामी ग¥यो भने कसैले नकिनोस्। कसैले किनेछ भने ती मान्छेका घर घेरिन्छन्’, उनले भनेका थिए। 

दुर्गा प्रसाईंले गत बर्षको फागुन २० गते संघीय संसद् भवन अगाडि गरेको भाषणको अंश हो यो। प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का नामले ‘आर्थिक अन्याय र बेथितिको विरोध’ भन्दै काठमाडौं प्रदर्शन गरे। नयाँ बानेश्वरमा आयोजित सभामा उनले राजनीतिक दलका नेतासँगै ब्यांक तथा वित्तीय संस्थाको चर्को विरोध गरे।

यसअघि पनि उनले थुप्रै पटक ब्यांक तथा वित्तीय संस्थाको ऋण नतिर्न आह्वान गरेका थिए। प्रसाईंले गत बर्षकै पुस १० गते सामाजिक सञ्जालमा एउटा पोस्ट गरे, जसमा ब्यांक तथा वित्तीय संस्थाको आलोचना गरेका थिए। झापाको कचनकवल गाउँपालिका–५ पाठामारीका तीन किशोरीले आत्महत्या गरेको घटनालाई पनि ऋणसँग जोडेका थिए। त्यति वेला उनी नेकपा (एमाले)का केन्द्रीय सदस्य थिए।

तेस्रो, आफूलाई राजावादी अभियन्ता बताउने प्रसाईंले अन्तिम राजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए। राजतन्त्र फर्काउने भन्दै अभियान चलाए। प्रसाईंले शाहसँग भेट गरेको तस्वीर फेसबुकमा सार्वजनिक गरेका थिए।423161800_122156827484027000_4079234241649339663_n1706520564-1726813973.jpg
‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला’, उनले भनेका थिए। 

यसअघि प्रसाईं र अभिनेत्री मनिषा कोइरालाबीच पनि भेट भएको थियो। राजासँगको भेट भइसकेपछि उनले एउटा अभियान झापाबाट सुरु गरेका थिए। उक्त अभियानको उद्घाटनमा पूर्वराजा शाह सहभागी भएका थिए।

अन्तिमचाहिँ उनी हालका प्रधानमन्त्री ओलीसँग नजिक मात्र भएनन् सत्तारुढ नेकपा एमालेको केन्द्रीय सदस्य समेत बनेका थिए।

एमालेको चितवनमा भएको दशौं महाधिवेशनमा सहभागी भएका थिए। तर, एमालेमा पनि लामो समयसम्म टिक्न सकेनन्। ओलीका कडा आलोचक बनिसकेका उनलाई कारबाही हुने भएपछि राजीनामा घोषणा गरेका थिए। 

यसबाहेक प्रसाईं मेडिकल कलेजको सम्बन्धन नपाउँदा डा. गोविन्द केसीको कडा आलोचक र छुद्र बोलीका कारण चर्चामा थिए। अहिले उनको मेडिकल कलेज बी एन्ड सीले सम्बन्धन मात्र पाएको छैन, ५० जना एमबीबीएसका विद्यार्थी भर्ना गर्ने कोटासहितको अनुमति समेत पाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति