सुगम काठमाडौंभन्दा दुर्गम जुम्लाको सिञ्जा साक्षर, विवरण पढ्नुहोस्
काठमाडौं– राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका भन्दा कर्णालीको जुम्ला जिल्लामा पर्ने सिञ्जा गाउँपालिकाको साक्षरता दर बलियो रहेको तथ्यांकले देखाएको छ।
सिञ्जा गाउँपालिकाकामा ९६.२ प्रतिशत जनता साक्षर भएका छन्। अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको हो।
हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अंक भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले बताए।
साक्षरताका १२ सूचक तोकिएका थिए।
बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ। मूल्यांकन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ।
पच्चीस प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।
जुम्ला देशकै बिकट मानिने कर्णाली प्रदेशमा पर्दछ। त्यहाँभित्रको गाउँपालिकाको साक्षरता प्रतिशत लोभलाग्दो देखिएको हो।
यता, सिञ्जा गाउँपालिकाभन्दा काठमाडौं महानगरपालिका पछि परेको छ।
महानगरको साक्षरता ९५.५ प्रतिशत रहेको जनाएको छ।
कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसंख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ।
आव ०८०÷८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन्।
गत आर्थिक बर्षमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको छ।
काठमाडौंका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आर्थिक बर्ष ०८०÷८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ।
प्रविधि, शिक्षा र पहुँचका आधारमा सुगम र सेवा सुविधा ज्यादा भए पनि दुर्गम मानिने पालिका पनि साक्षरतामा अब्बल हुन्छन् भन्ने यो एउटा नमूना हो।