Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी ठगी

सहकारी ठगीको रकम गोर्खा मिडियामा, पेश्की बनेर गोपिकृष्ण मुभिजसम्म पुग्यो

शुक्रबार, असोज ४, २०८१

काठमाडौं– पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहार, बीरगञ्जको सानो पाइलालगायतका सहकारीमा ठगी गरिएको रकम गोर्खा मिडिया हुँदै पेश्कीका रुपमा विभिन्न कम्पनीमा पुगेको संसदीय छानबिन समितिको प्रतिवेदनले देखाएको छ। 

यसका मुख्य योजनाकार जीबी राईले सहकारीको रकम यसरी गोर्खा मिडियामा लगेको र मतियारको काममा सञ्चालक समितिमा छविलाल जोशी, कुमार रम्तेल र हाल रास्वपा सभापति रवि लामिछाने समेत रहेको प्रतिवेदनले स्पष्ट संकेत गरेको छ।

गोर्खा मिडियामा पुगेको रकम पेश्कीका रुपमा विभिन्न कम्पनीमा लगिएको तथ्य समितिले फेला पारी प्रतिवेदनमा उल्लेख गरेको छ।

गोर्खा मिडियाबाट ‘नोबडी प्रोडक्सन प्रालिलाई ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ रकम पुगेको छ। 

यसैगरी गोपीकृष्ण मुभिज प्रालिका नाममा ८१ लाख २५ हजार रुपैयाँ रकम पेश्कीका रुपमा पुगेको छ। सभापति लामिछानेकी पत्नी निकिता पौडेलले त्यसबेला गोपीकृष्ण मुभिजको प्रमुख रहेकी थिइन्। यो उद्धब पौडेलले सञ्चालनमा ल्याएको फिल्मी कम्पनी हो।

यसरी नै ग्रीन ट्री डेभलपर्स प्रालिको नाममा ५५ लाख रुपैयाँ पेस्की गएको समितिको ठहर छ।

आस्रा इन्टरनेशनल प्रालिको नाममा ५० लाख ७२ हजार १६ रुपैयाँ, जुनकिरी इन्टरएक्टिभ प्रालिको नाममा ४० लाख, कार्य बोक्र्स प्रालिको नाममा १० लाख, अयान्स टेक्नोलोजी प्रालिको नाममा ५ लाख ८१ हजार र अन्य ५ लाख ७० हजार ६८६ रुपैयाँ  पेस्की गएको समितिले जनाएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/०७८ मा नोबडी प्रोडक्सन प्रालिलाई ५ करोड ३५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ सम्म पनि ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ फर्छ्यौट भएको छैन।

यस्तै, गोपीकृष्ण मुभिज प्रालिलाई आर्थिक वर्ष २०७७/०७८ मा २५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा थप ६६ लाख २५ हजार रुपैयाँ गरी ८१ लाख २५ हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७८/०७९ मा कर्मचारीहरूलाई एक करोड १७ लाख ३० हजार ८९२ रुपैयाँ पेस्की दिएको समितिले जनाएको छ।

जस अनुसार शम्भु गुरागाईंले ८१ लाख ३ हजार १९८ रुपैयाँ, रवि लामिछानेले १७ लाख १८६ रुपैयाँ, विपिन कुमार आचार्यले ९ लाख ७९ हजार ९१२ रुपैयाँ, पुष्पराज गिरीले ६ लाख १२ हजार १९ रुपैयाँ, टीकाराम राईले एक लाख ८५ हजार रुपैयाँ र अन्य एक लाख ५० हजार ५७७ रुपैयाँ पेस्की प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

समितिका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शम्भु गुरागाईंले कर्मचारी पेस्की बापत ८१ लाख ३ हजार १९८ रुपैयाँ लिइ आर्थिक वर्ष २०७८/०७९ सम्म पनि पेस्की फर्छ्यौट गरेका छैनन्।

यस्तै रवि लामिछानेले आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी पेस्कीबापत पटकपटक गरी लिएको १७ लाख १८६ रुपैयाँ पनि फर्छ्यौट हुन बाँकी रहेको समितिले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्