Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेले दीपक बोहोराको फोनबाट कुमार रम्तेलसँग गरेका थिए सम्वाद 

बाहिर धुलो सडकमा पदयात्रा, फोनमा गोर्खा मिडिया डुवानको अर्को जात्रा
शुक्रबार, असोज ४, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिन गरेको संसदीय समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएपछि धेरै विषयको खुलासा भएको छ। 

आफूले उपनिर्वाचनपछि मात्र सहकारी ठगीको रकम गोर्खा मिडियामा पुगेको जानकारी पाएको बताएका रास्वपा सभापति रवि लामिछानेसँग यस प्रकरणमा कास्की कारागारमा रहेका कुमार रम्तेलले फोन सम्वाद गरेको पनि खुलेको छ। 

रम्तेलले गोर्खा मिडिया डुब्नुको कारण रवि लामिछाने नै भएको बताएको बयानमा भनेका छन्। लामिछानेले नारायणगढ बुटवल पदयात्राका क्रममा रम्तेलसँग रास्वपा केन्द्रीय सदस्य दीपक बोहोराको फोनमा कुराकानी गरेको समितिको प्रतिवेदनमा उल्लेख छ। 

रम्तेलले नै यस्तो बयान दिएका थिए। 

कुमार रम्तेलले सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट आफ्नो नाममा करिब एक करोड ९० लाख रुपैयाँको कृत्रिम ऋण खडा गरी करिब ७ लाख किस्ता तिरिएको ऋणी पूर्वगृहमन्त्री रवि लामिछाने नै भएको पनि किटान गरेका छन्। 

सोही क्रममा उनले भनेका छन्,‘मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो। मैले चिनेको रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन्। मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्कको खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ। त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु।’

उनले लामिछानेसँग फोनमा कुरा गरेको खुलाउँदै भनेका छन्,‘रवि लामिछाने उहाँको पर्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभए पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ।’

आजको स्थितिको अर्थ ५ बर्षसम्म टेलिभिजन चलाउने शर्त गरी ८ महिनामा नै छाडेर हिँडेको र विल्लिबाठ पारेको प्रसङ्ग हो। टेलिभिजनमा ब्यापक लगानी भएको तर आम्दानी सोचेअनुसार हुन नसकेपछि लामिछाने राजनीतिमा होमिएका थिए।
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्