Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्यालेक्सी टेलिभिजनमा काम गरेका पाँच जना रास्वपाका पदाधिकारी, दुई केन्द्रीय सदस्य

शुक्रबार, असोज ४, २०८१

काठमाडौं -गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक र प्रबन्ध निर्देशकसहित सात जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा छन् । जसमध्ये पाँच जना पदाधिकारी र दुई केन्द्रीय सदस्य छन् । 

पार्टी सभापति रवि लामिछाने गोर्खा मिडियाका पूर्वसञ्चालक र प्रबन्ध निर्देशक हुन् । सहमहामन्त्री विपिनकुमार आचार्य, सहकोषाध्यक्ष दीपकराज बोहोरा, सहप्रवक्ताद्वय प्रतिभा रावल र रमेश प्रसाईं, केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल र विनिता कठायत गोर्खा मिडियमा आबद्ध थिए ।

कठायत प्रतिनिधिसभाको समानुपातिक सांसद पनि हुन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उनीहरूले ०७७/७८ र २०७८/०७९ मा बुझेको तलब उल्लेख गरिएको छ । जसअनुसार लामिछानेले एक करोडभन्दा बढी तलब लिएको खुलेको छ ।

गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका सम्पादक रहेका प्रमोद न्यौपाने हाल पार्टी सभापति लामिछानेको सचिवालयमा छन् । उनले आठ लाख ९ हजार ४५६ रुपैयाँ तलब बुझेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

ग्यालेक्सी टेलिभिजनमै काम गरेका पत्रकार नवराज पाण्डे लामिछाने पहिलोपटक गृहमन्त्री बन्दा नै प्रेस सहयोगी बनेका थिए । सहकोषाध्यक्ष बोहोरा पनि सचिवालयमा रहे । ग्यालेक्सीमै काम गरेका पत्रकारहरू पनि रास्वपाको प्रदेशसहित विभिन्न समितिमा आबद्ध छन् ।

सहकारी छानबिन संसदीय समितिले गोर्खा मिडियामा प्रवाह भएको ६५ करोड सबै सहकारीबाट नै आएको तथ्य सार्वजनिक गरेको छ । त्यस्तै, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलनमा सहभागी भएको भन्दै कारबाही सिफारिस गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्