Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली क्रिकेटले फेला पारेको नयाँ क्राइसिस म्यान "गुल्शन झा"

शनिबार, असोज ५, २०८१

अशोक सापकोटा ,काठमाडौ - ओमानविरुद्धको रोमाञ्चक खेलमा नेपालले जितको नजिक पुगे पनि अन्ततः निराशा हात पारेको छ । अन्तिम ओभरमा ८ रन जोगाउन नसक्दा नेपालले लिग २ शृङ्खलामा महत्त्वपूर्ण २ अङ्क ओमानलाई बुझाउनुपर्‍यो ।

नेपालले खेल गुमायो तर नेपालका अलराउण्डर गुल्शन  झाले सोही खेलमा विश्व कृतिमान बनाएका छन् । गुल्शन एकै खेलमा ५ विकेट तथा ५० रन बनाउने विश्वकै कान्छा खेलाडी बनेका छन् । यो रेकर्ड बनाइराख्दा गुल्शन झा केवल १८ वर्ष २१४ दिनका मात्र रहेका छन् । उनी नेपालबाट एकै खेलमा ५ विकेट लिँदै अर्ध शतक प्रहार गर्ने समेत पहिलो खेलाडी बनेका छन् ।

विश्व क्रिकेटका महान्तम खेलाडी साहिद अफ्रिदि र युनिभर्स बोस क्रिस गेललाई पनि पछि पारेका छन् , हाम्रा  गुल्शनले   ।

आजको खेलमा धेरैले गुल्शन वाह वाही गरेका छन् टोलीले हारे पनि म्यान अफ द म्याच चुनिएका  गुल्शन  सर्वत्र तारिफ भइरहेको छ । हिजोको प्रदशनपछी उनको तुलना विश्वको महानतम् खेलाडीहरूसँग हुन थालेको छ ।

नेपालीहरू बढी भावुक छन् , भन्ने कुरा त्यसै भनिएको होइन रहेछ , यो भाष्य मैले आफै कोरेको पनि होइन ।

गुल्शन  झा तिनै खेलाडी हुन् , जसले आज भन्दा तिन महिना पहिले जुलाई १५ को दिन खुब गाली खानु परेको थियो । गाली नगर्नेहरू पनि थिए तर तिनीहरू पनि गुल्शन  सँग कहीँ न कहीँ असन्तुष्ट जरुर थिए ।

अर्को शब्दमा भनौँ नेपालीहरू गुल्शन  निराश थिए जब नेपालले जुलाई १५ २०२४ को बिहान दक्षिण अफ्रिका

सँग एक रनले पराजित भयो ।सो खेलमा ११५ रनको लक्ष्य पच्छाउँदै गर्दा नेपाललाई अन्तिम बलमा दुई रन चाहिएको स्थिति थियो र क्रिजमा थिए उनै गुल्शन  कुमार झा । र बलिङमा थिए दक्षिण अफ्रिकी तीव्र गतिका बलर बार्टम्यान । जब बार्टम्यानले बल फ्याके गुल्शनले   जोडसङ ब्याट हल्लाए तर ब्याटले बल चुम्न सकेन । तर पनि गुल्शन  दौडिए , अफसोस त्यो दिन गुल्शन  दौडिन त दौडिए तर गन्तव्यमा पुग्न सकेन र गुल्शनसगै त्यो ३ करोड नेपालीको सपना र आशाले पनि गन्तव्य गुमायो ।

उता गुल्शनले गन्तव्य गुमाए , यता नेपालीले धैर्य गुमाए र बर्साउन थाले उनीमाथि तथानाम गाली ।

मैले अघि नै भनिसके नेपालीहरू धेरै भावुक छन् , किनकि नेपालीहरू धेरै समय रिसाउन सक्दैनन् । हिजोको खेलले नेपालीहरूको त्यही भावुकतालाई थप स्पष्टोक्ति दिएको छ , जुन गुल्शनसंग नेपालीहरू तिन महिना अघि निराश थिए त्यही गुल्शनलाई आज सबैले वाहवाहै गरिरहेका छन् ।

या त भनौँ जुन गुल्शनको प्रस्तुतिले गाली भेटिरहेको थियो , त्यही गुल्शनको प्रस्तुते हिजोदेखि ताली भेटिरहेको छ ।

गुल्शनले आफ्नो जीवनकालको यो तिन महिने अवधिमा भोगेको यो उतार चढावले मानव जीवनमा ठुलो सन्देश पनि दिएको छ । हुन त गुल्शन  अहिले केवल १८ वर्षका छन् , उनी आफ्नो करियरको एकदमै प्रश्थानविन्दुमा रहेका छन् भन्दा पनि फरक नपर्ला । अहिले नै उनको करियरलाई उत्कृष्ट भन्न अलि नमिल्ला तर १६ वर्षदेखि क्रिकेट खेल्न थालेका गुल्शनले यो दुई ढाई वर्षको अवधिमा धेरै थोक भोगिसकेका छन् ।

त्यसो त गुल्शनको वाह वाही भएको यो नै पहिलो पटक भने होइन , यसअघि सन् २०२३ को मार्च १६ मा वर्ल्ड क्रिकेट लिग अन्तरगत नेपाल र युएई बिचको निकै नै महत्त्वपूर्ण खेल भइरहेको थियो । पहिले ब्याटिङ गरेको युएईले नेपाल सामु तिन सय १० रनको विशाल स्कोर प्रस्तुत गरेको थियो । सो खेलमा ३१ ओभरमा भीम सार्कीको विकेट पतनसङै मैदान प्रवेश गरेका थिए गुल्शन  कुमार झा , त्यति बेला नेपालको स्कोर थ्यो केवल १८१ रन र नेपाललाई जितका लागि चाहिएको थियो अझै १३० रन । सो अवस्थाबाट गुल्शनले ५२ रन प्रहार गर्दै नेपालको डुङ्गा पार गरेका थिए ।  ५० रन बनाएर मात्रै होइन । नेपाल डिएलएस मा पछि परिरहेको बेला गुल्शनले खेलको ४२औँ  ओभरमा २० रन प्रहार गरेपछि नेपाललाई जित सहज भएको थियो । त्यसको ठिक दुई ओभर पछि अम्पायरले खेल रोकिदिए र यसरी नेपाललाई नौ रनको जित दिलाउन गुल्शनले महत्त्वपूर्ण भूमिका खेले ।

मैले यहाँ यसरी भन्न भन्दा पनि नेपाली क्रिकेटको त्यो ऐतिहासिक दिन र गुल्शनको सो अविस्मरणीय प्रदर्शन नेपाली क्रिकेट समर्थकहरूले सायदै बिर्सन सक्लान् ।  

 

त्यति बेला ताली पाएका गुल्शनले , विश्वकपका बेला राम्रै गाली खाए र अहिले फेरी सबैले उनको वाह वाही गरिरहेका छन् ।

हिजो सम्पन्न ओमान विरुदको खेलमा पनि उनी क्रिजमा पुग्दा नेपालको स्थिति खासै राम्रो थिएन । नेपालका सुरुवाती ब्याट्समेनहरुको प्रदर्शन र आरिफले खेलेको इनिङ्सले पनि हिजोको पिच कठिन रहेछ कि भन्ने लाग्दै थ्यो तर

पिच कठिन भए पनि आक्रामक ब्याट्सम्यानहरूका लागि पनि मौका थियो भन्ने गुल्शन झा र सोमपाल कामीको इनिङबाट महसुस गर्न सकिन्छ । प्राय सम्हालिएर खेल्ने कप्तान रोहित पौडेलले समेत राम्रो स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका थिए । तर, अग्रंपंतिका ब्याट्सम्यानहरूले डिफेन्सीभ माइन्डसेटमा खेल्दै अत्यधिक बल खपत गर्न पुगे, जसले गर्दा नेपाल बलियो स्कोरबाट चुक्यो ।

 

खेलमा ब्याटिङ क्रम परिवर्तन गर्दै नेपालले गुल्शन झालाई छैटौँ नम्बरमा पठायो । यो निर्णय नेपालका लागि निकै फलदायी साबित भयो । ओमानका बलरमाथि काउन्टर अट्याक गर्दै गुल्शनले विस्फोटक अर्ध शतक बनाए र नेपाललाई राहत दिए । गुल्शन क्रिजमा आउँदासम्म नेपालको रन रेट एकदमै दयनीय थियो । नेपालले ३७ ओभरमा ४ विकेट गुमाउँदा ११४ रन मात्र जोड्न सकेको थियो र दुई सय रन पुर्‍याउन मुस्किल हुने अवस्था थियो । गुल्शन आएपश्चात् कप्तान पौडेलले खुलेर खेल्न थाले । उनले ७२ बलमा ४ छक्का र २ चौकासहित ६० रन बनाएर आउट भए । त्यसपछि गुल्शनले हात खोले । ४६ औँ ओभरमा गुल्शनले अकिब इलियासलाई दुई छक्का र दुई चौकासहित २३ रन हान्दै नेपाललाई २ सय रन नजिक पुर्‍याएका थिए ।

सुरुवाती ओभरमा केही धिमा देखिएको पारि जसोतसो २२० पुग्यो र बलिङमा पनि सुरु भयो ‘गुल्शन झा शो’ ।

 

गुल्शनले अकिब इलियास र आयान खानलाई छोटो अन्तरालमा आउट गरेपछि नेपाल वास्तविकरुपमा खेलमा फर्कियो ।

त्यसपछि गुल्शन झाले ३ विकेट लिँदै पहिलो पटक आफ्नो खातामा ५ विकेट पुर्‍याए ।फलस्वरुप एक दिवसीयमा एकै खेलमा ५ विकेट र अर्ध शतक बनाउने पहिलो नेपाली खेलाडी बने गुल्शन । ४७.१ ओभरमा ओमानले नवौँ विकेट गुमाउँदा जितका लागि १८ बलमा १० रन आवश्यक थियो । पुछारका दुई ब्याट्सम्यानले सम्हालिएर खेले । नेपालले उनीहरूलाई आउट गर्न सकेन र खेलको अन्तिम ओभरमा ओमानलाई ८ रन चाहियो जितका लागि , ६ बलमा ८ रन रोक्न नसक्दा नेपालले दोस्रो जित हात पार्ने मौका गुमाउन पुग्यो ।

खेलको नतिजा नेपालको पक्षमा नरहे पनि गुल्शनको प्रदर्शन एउटा सुखद समाचार हो नेपाली क्रिकेटका लागि । हिजोको खेलमा उनले आफ्नो अलराउन्ड क्षमता देखाएका छन् । ब्याटिङ र बलिङ दुवैमा आफूलाई प्रमाणित गरे गुल्शनले र नेपाली क्रिकेटको एउटा बलियो भविष्यको रूपमा आफूलाई उभ्याउन यस पटक पनि सफल भए ।

 

तल्लो क्रममा ब्याटिङ गर्दै यसअघि पनि नेपालका लागि थुप्रै महत्त्वपूर्ण इनिङ खेलेका छन् गुल्शनले । बलिङमा भने उनको यो प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट हो । एउटा वास्तविक अलराउन्डर प्रमाणित गरेका छन् उनले आफूलाई । खेल नेपालले नजिते पनि उनी म्यान अफ दी म्याच बने । नेपालले खेल जितेको भए गुल्शनको प्रदर्शन अझै अविस्मरणीय बन्न सक्थ्यो यो मानेमा चैँ गुल्शन अभागी साबित बन्न पुगेका छन् ।

करियरको एकदमै सुरुवाती दिनहरूमा गुल्शनले नेपाली क्रिकेटलाई दिएको योगदान अतुलनीय छ । जब-जब नेपाललाई अप्ठ्यारो पर्छ तब-तब गुल्शन क्रिकेटका लागि गुड सन भएर निक्लन्छन् । अङ्ग्रेजीमा भन्दा उनी नेपाली क्रिकेटका नयाँ क्राइसिस मेन ठहरिएका छन् ,जुन कुरा उनको लगातारको प्रदर्शनले पनि देखाइरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार