नेभिगेशन
विचार
आत्म समिक्षा

अनुशासनको कसीमा उभिएर भन्छु– राजसंस्था आवश्यक भो

मेरी सानी छोरी छन्।

उनलाई यो विषयसँग कुनै सरोकार छैन। 

आध्याश्री ढकालका निम्ति यी केही होइनन्। उनका निम्ति ‘ह्याप्पी ह्याप्पी’, ‘जोनी जोनी एस पापा’ जस्ता कार्टुनयुक्त गीत मुख्य हुन्।

पापा आइस्यो, पापा टाटा, लभ यु पापा यी उनका फेभेरेट शव्द हुन्। 

बोली भर्खरै फुटेका छन्।

उनका सिकाईका समय आरम्भ भएका छन्। 

थकित, गलित र दिनभरी समाचारका खेस्रासँग खेलेर घरमा आउँदा फरक संसारसँग रमाउने मेरो सानो परिवारको यो नयाँ सदस्यले दिने अनेक उमङ्ग छन्। 

थोरबहुत खुशी हुन्छु। रमाउँछु। अक्षरसँगका लुछाचुँडी, शव्दसँगका लुकाछिपी अनि देशको स्थितिसँगका हेराफेरीमा गुज्रिरहेका दैनिकीभित्र केही घन्टा छोरीसँग रमाउँछु। 

अनि, कहिलेकाहीँ घोत्लिन्छु पनि– कस्तो भविष्य होला? कस्तो परिस्थिती बन्ला? अनि, उसको जीवनका हरेक दिनमा देश कस्तो बनेर फक्रिएला?
अनुशासन भनेको के सिकाउने होला? हामी कत्ति अनुशासित छौं र उनलाई अनुशासन सिकाउने होला?

अनुशासनको उदाहरण के दिने होला?

अनुशासनको पहिलो कसी संविधान हो। संविधानको बाटुली भनेको प्रशासनयन्त्रमा रहेका मानिस हुन्। त्यसको नेतृत्वकर्ता हुन्। तिनलाई देखाएर अनुशासन सिकाइन्छ। 

आज प्रधानमन्त्रीदेखि हरेक तह र तप्काका मानिसलाई देखाएर यस्तो भाषा बोल्नुपर्छ, नानी। यस्तो बन्नुपर्छ भन्ने स्थिति छ। त्यो थिति सिकाउन सकिएला? प्रश्नका घनचक्कर छन्। 

केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, रवि लामिछाने, माधव नेपाल जो कोही हुन् यीनलाई आदर्शको पात्र हुन् भनेर मैले मेरो सन्तानलाई देखाउने, सिकाउने कोशिशसम्म पनि गर्न सकुँला?

अनुशासनहिनताको पराकाष्ट नाघेर बोल्ने यस्ता चित्र र चरित्रलाई होइन, सौम्य, शालिन अनि शिष्टताको कसीको उदाहरण दिँदा राजालाई देखाउन बाध्य हुन्छु, म। 

हो, म एउटा बौद्धिक पेशा र लोकतन्त्रका निम्ति पनि लडेको मानिस हुँ। परिस्थितिजन्य अवस्थामा चालिएको राजनीतिक कदमप्रति मेरा बौद्धिक बुझाईमा राजाका शासकीय शैलीमाथि असहमति र बिरोध होलान्। तर, त्यस्तो स्थिति र कमद चाल्दा पनि उनी शिष्टताका उदाहरणीय नै देखिन्थे, अहिले त झनै छन्। 

राजाले सबै खाए भन्ने भाष्य बनाइयो। आज गणतन्त्रमा कसले कति कति खाएछन्? उदाहरण पेश भैरहेको छ।

देशका सम्पत्तीमा राजनीतिक रङ्ग दिएर बालुवाटारदेखि गिरीबन्धुसम्म कस–कसले निलेका रहेछन्? युद्धका नाममा बैंकदेखि सर्वसाधारणका घर लुटेर सुनदेखि नगदसम्म बोराका बोरा कसका घरमा पुगेछन्?

हाइड्रोदेखि प्रहरी सामग्री खरिदका कमिशन कस–कसले निलेका रहेछन्?

देश टाट पल्टिएपछि युवा शक्ति परदेशिन बाध्य भए अनि बाँकी रहेका श्रमिक, बृद्धले जम्मा पारेको सहकारीको रकम घुमाएर कस–कसले निलेका रहेछन्? आफूले मात्र नभई श्रीमतीका कम्पनीसम्म पेश्की भनी कस–कसले खाएका रहेछन्?

यावत प्रश्न छन्। यी प्रश्नहरू राख्नुहोस् तपाईले अहिलेसम्म नखाएको गाली सामाजिक सञ्जालमा पाउनुहुन्छ। हाम्रो अनुशासनको लेभल त्यहाँसम्म पुगेको छ।

खैर, 

नेपालको संविधान २०७२ मान्नुका कारण छन्। यो घेराबन्दीबीच जारी भयो। यसको बदला हामीले नाकाबन्दी पनि खेप्यौं।

भूकम्पले थलिएको जीवनबीच राजनीतिक दललाई यसका निम्ति समर्थन गरियो। मधेसमा बिरोध भयो– यसको राजनीतिक अर्थ होला या केही प्रश्नहरुले निराकरण नपाएको हुन सक्छ।

तर आजका दिनमा देखिएको राजनीतिक अस्थिरता, मेरो वर्तमान र मेरी छोरीको भविष्यप्रति चिन्तित छु।

राणाहरूले १०४ बर्ष शासन गरे। देशको कार्यकारी अधिकार आफैंमा नीहित बनाए। यहाँसम्मकी श्री ३ पदवीसम्म पनि पुगे। तर, राजसंस्था ढालेनन्।

उसलाई श्री ५ मा कायम राखेर सम्मान नै गरे। सम्मानित ओहदा नै दिए। उनीहरूले श्री ५ आफैं बन्न सक्ने स्थिति थियो। जहाँनिया शासनमा पनि राजसंस्थालाई निर्मूल पारिएन। 

फगत गणतन्त्रका नाममा हामीले एउटा मान, दक्षिण एसीयाको सबैभन्दा ठूलो राजसंस्थात्मक मुलुकलाई नामेट बनायौं। 

भुटानले राजसंस्था कायम राखेर समृद्धिको उचाई लिएको छ, हामी त्यहाँका शरणार्थीका नाममा नेपालीलाई विदेश ठेलिरहेका छौं, नक्कली बनाएर अनि हाम्रो नारा छ– गणतन्त्र जिन्दावाद!

यसले राजसंस्था वा राजतन्त्र मात्र नामेट भएन, अनुशासन सक्कियो, गौरब धुलिसात भयो। सार्वभौम अधिकारका नाममा, युद्धका नाममा अनि सम्झौताका नाममा, संघीयताका नाममा एउटा मानक संस्थाको चीर हरण गरियो, ध्वस्त बनाइयो।

नेपालको सबैभन्दा पुरानो कुटनीतिक र दौंत्य सम्बन्ध भएको बेलायतले अहिलेसम्म राजसंस्थाको मानकलाई ढल्न दिएको छैन, हामी आधुनिक गणतन्त्रका नाममा परिचय नामेट गर्न लाग्यौं। 

इतिहासमा नेपाल मात्र यस्तो देशको नाम हो जो कसैको अधिनस्त रहेन भनेर छाती चौडा पारेर विश्वसामु भन्ने गर्छौं, त्यसको मानक कायम राख्ने संस्थालाई सिध्याएर अहिले विदेशीको इशारामा शासन सत्ताको अस्थिरतामा रमायौं। 

सायद डेढ दशकअघि राजनधानी दैनिकमा कार्यरत हुँदा मैले एउटा आलेखमा भनेको थिएँ,‘देश रहन राजा रहनुपर्छ, नेता बन्न प्रदेश काफी छ।’ आज एउटा प्रखर भारतीयहरुले नेपाललाई प्रदेश भनेका भिडिओ आधुनिक सञ्जालमा चलिरहेका छन्।

एउटा फिल्ममेकर, गीतकार जस्तो भारतीय मानिसले सीताको विवादका क्रममा भन्छ– नेपाल भारतको अधिनमा थियो। उसले यो किन भन्ने आँट गरेको होला? कि, यहाँ गणतन्त्र छ।

हेर्नुस्, यो मेरो निजी आत्मसमिक्षा हो, भविष्य कस्तो हुनेछ? शासन जे होस् तर अनुशासन भएन भने त्यसको अर्थ हुन्न। 

आज अपराध नै सबैभन्दा कम हुने नेदरल्यान्डमा कुन तन्त्र छ? काम र सीपमा अग्रपंक्तिमा रहेको जापानलाई नियाँल्दा पनि हुन्छ। 

हामी आफ्ना लागि जे जति बन्यौं, भोलीका लागि के बनाइरहेका छौं? समृद्धिका नाममा राजनीति होइन, अनुशासनका नाममा गरियो भने भोलीका दिनमा समृद्धि स्वभाविक छ। अनुशासन भनेको हरेक क्षेत्रको मौलिकता र थितिको कसी हो। त्यसैले बनाउँछ शिष्ट प्रशासनयन्त्र। 

राजनीतिक अनुशासनहिनता भोलीका लागि छोरा होस् अथवा छोरीका लागि उदाहरणीय बन्न सक्तैन। यसैले अनुशासनका निम्ति आत्मालाई साक्षी राखेर भन्नुहोस् त– राजसंस्था आवश्यक छैन र? 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विचार

आईजी थापाका ‘जायज’ उत्तर

राजा कसरी रहन पनि सक्छन्?