Nic Ad Nic Ad
Nic Ad Nic Ad

भालुबाट किसानलाई मौरीघार जोगाउनै मुस्किल

शनिबार, असोज ५, २०८१

जुम्ला- जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पुर्‍याउँदा यहाँका किसान चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताए ।  

“दुई वर्षका अन्तरमा १३  मौरीका घार भालुले खाइदियो । अहिले एक मात्र घार रहेको छ । घार भालुबाट जोगाउन समस्या भयो ।  भालु धपाउन अनेकन उपायहरू गरे पनि सकिएको छैन,” उनले भने, “रातभर मान्छेहरू जाग्राम बस्ने, थाले केही गरेर भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा दिन सकिएको छ । ”

जंगलको छेउमा मौरीपालन भएकाले चरन क्षेत्रको अभाव थिएन । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्ने गरेको मौरीपालक किसान बुढ्थापाले बताए । 

भदौ, असोज र कात्तिकमा मौरीपालनमा भालु आतंक नै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले जानकारी दिए । 

भालुले मौरीको लार्भा र मह खाने गरेका छ ।  दुधिलो र मीठो हुने भएकाले मौरी घार खोजीखोजी खाने गरेको यहाँका किसान बताउँछन् । 

भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघार सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालुले धैरै क्षति गरेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले बताए । 

“भालु र रोगले मौरी मासिन थालेपछि किसानले मौरीको दररेट तोक्न दिन माग गर्दै कृषि विकास कार्यालयमा निवेदन दिएका छौँ,” उनले भने, “कार्यालयबाट सुनुवाइ भएको छैन । सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बीमा गर्ने व्यवस्था गरेको छ । अन्य जिल्लामा मौरी बीमाको सेवा किसानहरूले लिइरहेका छन् ।”

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्