Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलिउड र साउथका भयंकर भिलेन चरित्र अभिनेता प्रकाश राज काठमाडौमा, कम्युनिस्ट हुन्

शनिबार, असोज ५, २०८१

काठमाडौं - साउथ इण्डियन फिल्म ‘ज्याक’ छायांकनका लागि चर्चित भारतीय अभिनेता प्रकाश राज शनिबार काठमाडौं आइपुगेका छन् । भिस्तारा एयरलाइन्सको विमानबाट उनी दिल्ली हुँदै अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

५ दिनदेखि यो तेलुगु फिल्मको सुटिङ काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भैरहेको छ । प्रकाशराजले आइतबारदेखि छायांकन ज्वाइन गर्नेछन् । १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्नेछन् ।

यो फिल्मका लागि १५ जनाभन्दा बढी कलाकार अहिले नेपालमा छन् । केही नेपाली कलाकारले पनि यसमा अभिनय गरिरहेका छन् । छायांकनमा नेपाली प्राविधिकहरुको संलग्नता छ ।

यो फिल्मको नेपाल व्यवस्थापन सुरज आचार्य, अरुण रेग्मी र सुुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले हेरिरहेको छ । फिल्मको निर्माण व्यवस्थापक चलचित्र प्राविधिक संघका अध्यक्ष रहेका पुष्कर लामा (प्रेम भोम्जन) हुन् ।

हस्पिटालिटीको व्यवस्थापन माउण्टेन बौद्ध होलिडेजका प्रकाश सापकोटाले हेरेका छन् । आगामी २० दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फिल्मको छायांकन हुने लामाले जानकारी दिए ।

नेपालअघि यो फिल्मको सुटिङ भारतको हैदराबादमा गरिएको थियो । बोमारिल्लु भास्करले निर्देशन गरिरहेको यो फिल्मको शीर्ष भूमिकामा सिद्यु जोन्नालगडा छन् । तेलुगु फिल्म ‘टिल्लु स्क्वायर’बाट उनी चर्चामा छन् । वैष्णवी चैतन्य अभिनेत्रीको रुपमा छिन् । वेंकटेश्वर सिने चित्रले फिल्म निर्माण गरिरहेको छ । फिल्मको ८० प्रतिशत छायांकन पुरा भएको जनाइएको छ ।

प्रकाश राज राजनीतिप्रति रुचि राख्छन्। यी कम्युनिस्ट हुन्। सन् २०१९ को भारतको लोक सभा निर्वाचनमा कम्युनिस्ट भएकै नाताले उनी नरेन्द्र मोदीको भाजपाविरुद्धको उम्मेद्वार कन्हैया कुमार सिंहलाई सघाउन बिहारको बेगुसराई चुनाव प्रचारमा पुगेका थिए । अहिले कन्हैया कुमार कांग्रेस आईमा पुगिसकेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्