Nic Ad Nic Ad
Nic Ad Nic Ad

 बाबुसँगै जंगल गएका बालकको भेटियो कंकाल

शनिबार, असोज ५, २०८१

विराटनगर - मोरङको केराबारीमा बाबुसँगै जंगल जाँदा बेपत्ता भएका १ बालकको कंकाल फेला परेको छ ।

प्रहरीका अनुसार केराबारी गाउँपालिका–६ बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दीपबहादुर तामाङको कंकाल शनिबार दिउँसो भेटिएको हो । केराबारी–६ स्थित आहाले समुदायिक वनभित्र दिउँसो १ बजेतिर कंकाल फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार जंगलमा दाउरा खोज्न गएकाहरुले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । दीपबहादुर भदौ २३ गते दिउँसो बाबु पदमबहादुरसँग जंगल गएको पत्ता लागेको छ । १३ दिनपछि उनको कंकाल भेटिएको हो ।

‘बन्चरोको बिँड काट्नलाई भनेर बाबु–छोरा जंगल गएका रहेछन् । काम सकिएपछि बाबु घर फर्किए । छोराले म केहीबेरमा आउँछु भनेर भनेछन् । तर, फर्किएर गएनन् । परिवार र आफन्तले खोजी गरिरहेका बालकको एक्कासि कंकाल फेला परेको हो,’ डीएसपी जोशीले भने । उनका अनुसार कंकालको केही भाग रुखले किचिरहेको अवस्थामा भेटिएको छ ।

‘रुख ढलेर किच्दा बालकको मृत्यु भएको हुनसक्ने देखिन्छ । कंकाल पनि ढलेको रुखले च्यापिएको अवस्थामा भेटिएको हो,’ उनी भन्छन्, ‘विस्तृतमा घटनाको अनुसन्धान अघि बढाइएको छ । थप विषय अनुसन्धानपछि पत्ता लाग्छ ।’ जोशीका अनुसार घटनास्थलमा भेटिएको कपडाका आधारमा बाबु पदमबहादुरले ‘कंकाल मेरै छोराको हो’ भनेर सनाखत गरिदिएका हुन् ।

शरीरका अंग छरपस्ट रहेको अवस्थामा कंकाल भेटिएको थियो । ढलेको रुखले लागेर मृत्यु भएपछि जंगली जनावरले खाएको हुनसक्ने प्रहरीको आशंका छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कंकाल उठाएर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । खत्री नेतृत्वकै प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

आहाले सामुदायिक बन भित्र लेटाङ नगरपालिकामा महाेत्सव हुदा, एक युवकलाई सामुहिक कुटपिट गरि हत्या गरेका थिए । हत्यारा हाल सम्म पत्ता लागेकाे छैन ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्