Nic Ad Nic Ad
Nic Ad Nic Ad

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन

आइतबार, असोज ६, २०८१

स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु. २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।

स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बङ्गुर मरेपछि लगानी डुब्ने डरले बङ्गुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बङ्गुरपालन सुरु भएको बताइन् । चालीस जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका पाठापाठी र माउ बङ्गुर रहेका छन् ।

स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिइन् । “विदेश जान लागेका श्रीमान्लाई गाउँमै रोकेकी छु । फार्मका बङ्गुर राम्रै भएका छन्”, उनले भनिन् “बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार ५०० भाडा तिर्नुपर्छ । एक परिवारले पाँच वटासम्म माउ बङ्गुर राखेका छन् । पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ ।”

रानाले बङ्गुर पाल्न सके बजारको समस्या नहुने बताइन्। “यहाँ धार्नीलाई रु. नौ सय छ । गाउँमा बङ्गुर काट्दा मासु खोसाखोस हुन्छ । पाल्न सके बङ्गुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्”, उनले भनिन्।

कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको कृषि तथा पशुपालनको माध्यमबाट गरिबी निवारण गर्ने र समृद्धि हासिल गर्ने लक्ष्य छ संस्थाका कालीगण्डकी प्रमुख दीपक विश्वकर्माले गाउँपालिकाको रु. दुई करोड ४५ लाख र हेफरको रु. एक करोड पाँच लाखमा कृषि तथा पशुपालनका क्षेत्रमा काम भइरहेको बताए।

गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा विसं २०७९ चैत १७ गते आयोजना सुरु भएको थियो । “हालसम्म एक सय २४ वटा साना खोर तथा बङ्गुर र बाख्राका तीन–तीन वटा नमूना खोर निर्माण गरेका छौँ । दुई सय ३० वटा बीउ बाख्रा र बीउका लागि एक सय ७० वटा बङ्गुरका पाठापाठी वितरण गरेका छौँ”, विश्वकर्माले भने।

यसैगरी १२ वटा भैँसी र तीन वटा गाई खरिदमा ४० हजार अनुदान, नस्ल सुधारका लागि २९ वटा समूहमा बोका वितरण, २७ वटा भकारो निर्माण, साझेदार फार्म तथा व्यक्तिका लागि १५ वटा चापकटर र १० किलो काँटा वितरण, मिर्मीमा डेरी स्थापनाका लागि रु. सात लाख अनुदान, बेल्टारीमा घाँस स्रोत केन्द्र स्थापना गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्