Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक महिनाभित्र बिजुली उत्पादन गर्दै मध्य भोटेकोशी

आइतबार, असोज ६, २०८१

काठमाडौँ- सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् ।

बाह्रबिसे नगरपालिका-५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका-३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइहरेको प्राधिकरणले जनाएको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैंअघि सकिने छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका-२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्ष, प्रशासकसहितको छलफलमा १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो ।

बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफा गर्न सुरु गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने छ ।

विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरूको वेट टेस्ट सुरु हुने छ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्