Nic Ad Nic Ad
Nic Ad Nic Ad

आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड हाे : राष्ट्रपति पौडेल

आइतबार, असोज ६, २०८१

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रिकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताए । उनले भने– ‘संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पु¥याउने कामका लागि शासन सञ्चालनमा बसेकाहरूलाई घच्घचाएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाईँहरूले अझै जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अंगका रुपमा सम्मान प्राप्त भएको स्पष्ट पार्नुभयो । उनले भने–‘जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्दछ भन्ने म ठान्दछु । यसमा नेपाली पत्रकारहरू सचेत र सजग हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीन वटै लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

उनले प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयम्ले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने–‘पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो ।’

राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाईन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तिव्र सूचना प्राप्तिको आम मानिसको चाहनालाई पूरा गर्न मद्धत गरेको बताउदै सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसञ्चार माध्यमको व्यवसायिक र प्राथमिक दायित्व भएको स्मरण गराए ।


उनले न्यू मिडिया र बढ्दो सामाजिक सञ्जालसँगै तिव्र सूचना सम्प्रेषण गर्ने प्रतिस्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आजको आवश्यकता भएको बताउदै यसतर्फ प्रेस काउन्सिलजस्ता अनुगमनको जिम्मेवारी पाएको अभिभावकीय संस्थाले प्रमुख र प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले काउन्सिललाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने लोकतन्त्रको मूल मान्यताप्रति गम्भीर बन्दै मिथ्या र गलत सूचना संप्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौतिको सजगतापूवर्क सामना गर्नका लागि शुभकामना दिए।


काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारीलाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्रि सिग्देललाई प्रदान गरे । साथै काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव विभिन्न व्यक्तिहरूलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्