संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छ: सभामुख घिमिरे
मोरङ- सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताए।त्यस अवसरमा उनले संघीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताए। सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी संघठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान हुने धारणा राखे ।
उनले हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुंगो लगाउने विधेयक पास गरेको, बजेट समयमै पास गरेको र सहकारीको रकम अपचलनका सम्बन्धमा गठित संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई बुझाएकाले संसद्ले प्रतिकुलताका बीच समयमा काम सम्पन्न गरेको बताए।