Nic Ad Nic Ad
Nic Ad Nic Ad
कविता

रविका अघि मि. कोलम्वस उत्तानो

सोमबार, असोज ७, २०८१

जहाँ रवि पुग्दैनन्
त्यहाँ कवि पुग्छ रे
यहाँ त रविको अघि
कवि नै उत्तानो परेको
कसैले भेउ नै पाएनन्।

कसैले ज्ञात नै गरेनन्
कसैले खेल नै बुझेनन्
उसले जे बोल्यो पत्याईरहे
उसले जे भन्यो सुनिरहे
केवल उसैको पछि लागिरहे
कस्तो अचम्म?

कविले आफ्नै अगाडि
रविलाई नाङ्गै देख्दा समेत 
लुटको डंका पिटी रह्यो
अन्याय, अत्याचारको
पराकाष्ठा नाघ्दै
भ्रमको विगुल फुकिरह्यो
अनेकौं बवण्डर गर्दा पनि
आफूलाई सद्दे फलाकि रह्यो
के थाह विचरा कविलाई 
रवि नामको आवरण भित्र
पापै–पाप अनि
षडयन्त्रको बारुद छ भनेर ।

रविको कर्तुत देखेर
आजकाल कवि गम्दै छ
विगतका वर्षहरुमा
कता–कता के–के गरेन
कोलम्वसको अमेरिकादेखि
टेलिभिजनको पर्दासम्म
मतदाताको घर–घरदेखि
सर्वोच्चको इजलाससम्म
प्रशासनको फाँटफाँटदेखि
प्रहरीको हिरासतसम्म
संसदको रोष्ट्रमदेखि
सहकारीको खजानासम्म ।
शालिकराम झुण्डिई रहँदा
शम्भू छतबाट खस्दै गर्दा 
न्याय एकांकी बनिरह्यो
रविले दुनियाँ डसीरह्यो
कस्तो भयानक खुबी
साच्चै खतरनाक रवि
जता पायो दूध र दही,
त्यतै त्यतै रविको सही 
अझै उसका भक्तजनहरु
लिङ्ग पूजा गर्ने हेतु
तछाड मछाड गरेको देख्दा
जान्नेलाई छानेका होलान् ।

अब, रवि जता पुगे पनि
कतै पैसा नतिरे पनि
दुईटा राहदानी बोके पनि
जोडी नागरिकता लिए पनि
श्रीमति जति भित्राए पनि
सहकारी सबै डुवाए पनि
दुनियाँलाई रुवाए पनि
आफ्नै घर भत्काउनेले
देश बनाई दिन्छ भनेर
दीग्भ्रमित हुने कवि 
र विश्वास गर्ने लोक संझिदा 
कसलाई पो उदेक नलाग्ला।

-कर्मवीर, भक्तपुर

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्