हलान्डले बराबरी गरे रोनाल्डोको कीर्तिमान
काठमाडौं - म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले १०० औं गोल पूरा गरेका छन् । नर्वेजियन स्ट्राइकरले सिटीका लागि १०५ औं खेल खेल्दै १०० गोल पूरा गरेका हुन् । हालान्डले सिटी पुगेको दुई वर्षमै यो उपलब्धी हासिल गरेका हुन् । उनले सबैभन्दा कम खेलमा १०० गोल पूरा गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान पनि बराबरी गरेका छन् । रोनाल्डोले रियल मड्रिडमा खेल्दा १०५ खेलमै १०० गोल गरेका थिए ।
हालान्डले ब्रेक गर्न सक्ने कीर्तिमान
हालान्डले हाल पछ्याइरहेको अर्को कीर्तिमान नर्वेका लागि सर्वाधिक गोलकर्ताको हो । उनले राष्ट्रिय टिमका लागि ३२ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्ने योर्गेन गुज भन्दा १ गोलले मात्र पछि छन् । जुभले १९२८ देखि १९३७ सम्म खेल्दै ३३ गोल गरेका थिए । म्यानचेष्टर सिटीका लागि सर्जियो अग्युरोले सर्वाधिक २६० गोल गरेका छन् ।
अहिलेकै शैलीमा हालान्डले गोल गर्दै गएका सिटीमा छैटौं सिजन खेल्दा हालान्डले उक्त कीर्तिमान ब्रेक गर्न सक्छन् । यस्तै प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान एलान सियररको नाममा छ । हालान्डले त्यो कीर्तिमान पनि तोड्न सक्छन् ।
हालान्डले प्रिमियर लिगमा दुई सिजन खेल्दा दुवै सिजन सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए । पहिलो सिजनमै कीर्तिमानी ३६ गोल गरेका उनले गत सिजन २७ गोल गरेका थिए । यस सिजन ५ खेलमै १० गोल गरिसकेका छन् । हालान्डले यही अनुपातमा गोल गर्दै गएमा सन् २०२९-३० सम्म एलान सियररको कीर्तिमान पनि ब्रेक गर्न सक्छन् ।
सन् १९९२ अघिको शीर्ष डिभिजनको फुटबल समेत गणना गर्ने हो भने जिम्मी ग्रिभ्सले ३५७ गोल गरेका छन् । यसलाई पछि पार्न हालान्डले अन्य केही वर्ष समेत सिटीबाट खेल्नुपर्नेछ । हालान्डको लागि शीर्ष श्रेणीको फुटबलमा एकै सिजन ६० गोल गर्ने डिक्सी डिनको कीर्तिमान भने तोड्न कठिन हुन सक्छ । सन् १९२७-२८ सिजन डिनले एभरटनका लागि शीर्ष डिभिजनमा ६० गोल गरेका थिए ।
हालान्डको अबको नजर प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल गर्नु हुनेछ । उनी सामु ५२ खेलमा २७ गोल गरेर छिटो १०० गोल गर्ने कीर्तिमान बनाउने अवसर पनि छ । यस्तै युरोपियन च्याम्पियन्स लिगमा हाल क्रिस्टियानो रोनाल्डोले सर्वाधिक १४० गोल गरेका छन् । हालान्डले पाँच सिजनमा ३९ खेलमा ४१ च्याम्पियन्स लिग गोल गरिसकेका छन् । यही च्याम्पियन्स लिगमा हरेक सिजन ८ गोल गर्दै गएमा हालान्डका लागि रोनाल्डोको कीर्तिमान ब्रेक गर्न १२ सिजन लाग्न सक्छ ।