Nic Ad Nic Ad
Nic Ad Nic Ad
मोड

निरन्तरताको क्रमभंगताः राजसंस्थाबारे राती सुत्ने बेलामा सोच्छन् प्रचण्ड

मंगलबार, असोज ८, २०८१

काठमाडौं– राजसंस्थालाई हटाएर देशमा गणतन्त्रसहित नयाँ संविधान जारी गर्ने प्रमूख भूमिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। 

राजनीतिको इपिसेन्टरका रुपमा रहेका प्रचण्डको दाबी हुन्छ– देश अहिले पनि माओवादीको एजेन्डामा छ। 

संविधान संशोधनका विषयमा तर्क गर्दै उनले हालै मात्र पनि हरेक हरफमा कांग्रेस र एमालेले माओवादी देख्ने गरेको बताएका थिए। 

उनै प्रचण्ड फेरि राजसंस्थाबारे राती सुत्ने बेलामा पनि सोच्दा रहेछन् भन्ने जानकारी राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले खुलासा गरेका छन्। 

हुन त प्रचण्डले यसअघि पनि सांस्कृतिक राजाको विषयबारे नबोलेका होइनन्। कतिपय माओवादी छाडेका नेताले त प्रचण्डले दरबारसँग सम्झौता गर्न लागेको भनी खुलेआम बताएका पनि छन्। 

प्रचण्डको राजनीतिक स्लग छ, निरन्तरताको क्रमभंगता। यहि शैलीमा उनले मिश्रसँग भनेछन्,‘म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।’

प्रचण्डसँग खुमलटारमा भेटेपछि मिश्रले यस्तो खुलासा गरेका छन्, ७ बुँदाको ब्याख्यामा।

मिश्र लेख्छन्,‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन। लामो व्याख्या सहित सारमा मैले यही भनें।’

यसपछि प्रचण्डले गरेका टिप्पणीलाई मिश्रले अर्थपूर्ण भनी बुँदागत रुपमा लेखेका छन्। 

७ बुँदा यस्ता छन्–
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५. देशमा विदेशी हष्तक्षेप चरम अवस्थामा पुगेको सही हो।

६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ’निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्