Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले–माओवादी मिलाउने प्रसाईं पक्राउको कारण रास्वपा ‘केस’

मंगलबार, असोज ८, २०८१

काठमाडौं– कुनै बेला कम्युनिस्ट पार्टीको गठबन्धन गरी चर्चामा आएका दुर्गा प्रसाईं अहिले विद्युतीय कारोबार ऐन अन्तर्गत साईबर अपराधमा प्रहरी नियन्त्रणमा रहेका छन्। 

हालका प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित घरमा बोलाएर मार्सी चामलको भात खुवाउँदा उनको ब्यापक चर्चा भएको थियो। 

त्यहि घरबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ। 

पक्राउ गरिनुको कारणचाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य (केस) ज्वाला संग्रौलाको उजुरी हो। प्रसाईंले नामै नलिए पनि संग्रौलालाई इंगित गरी ‘जापानमा बे...गरेको आई..’ भनेका थिए। 

सोही भनाईले आफूलाई चोट पुगेको भनी संग्रौलाले उजुरी दिएकी थिइन्। पछिल्ला चरणमा एमालेविरुद्ध खरो रुपमा उत्रिएका प्रसाईंमाथि अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।

यता, प्रसाईं पक्राउ प्रकरणमा सर्वोच्च अदालतले कारण देखाऊ (सो कज) आदेश जारी गरेपछि अनुसन्धानमा प्रहरीलाई सहज हुने देखिएको छ।

प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो।

सर्वोच्चले कारण देखाउनका लागि आदेश मात्र माग गरेपछि त्यसको जवाफ पठाएर प्रसाईंमाथि छानबिन जारी राख्नका लागि प्रहरीलाई सहज भएको छ। छाडेर वा बाहिर राखेर अनुसन्धान गर्नका लागि सर्वोच्चले आदेश नदिएका कारण हिरासतमा राखेर नै बयान लिन सहज हुनेछ। 

तर प्रसाईं बिरामी भएको भनी अस्पतालमा भर्ना छन्। 

जिल्ला अदालत काठमाडौंले प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको थियो। प्रसाईंका छोरा निराजनले भने आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्द बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्