Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ : मुख्यमन्त्री सतिशकुमार

मंगलबार, असोज ८, २०८१

महोत्तरी- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब जीवन पद्धतिसँग जोडिएको बताएका छन् ।

संसार नै जलवायु परिवर्तनको असरले प्रभावित भइरहेका बेला अब चराचर प्राणीजगत्को जीवनका लागि जलवायु अनुकूलनतिर अग्रसर हुन अपरिहार्य बनेको उनले उल्लेख गरे। सिंहले बर्दिबासमा विभिन्न १४ वटा सामाजिक संघसंस्थाले आज आयोजना गरेको ‘स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन’ छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरे।जलवायु परिवर्तनका नकारात्मक असर घटाउँदै लान यो परिस्थितिभित्रबाटै सकारात्मक पहलकदमी आवश्यक रहेको उनको भनाइ छ । विषादीरहित प्रांगारिक खेतीपाती, सन्तुलित आहार विहार, प्रकृति संरक्षण र वातावरणीय सन्तुलनका लागि सघन वृक्षारोपणजस्ता विषय जलवायु अनुकूलनसँग जोडिएका हुँदा यसको अनुसरण अनिवार्य बनेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।

जलवायु अनुकूलन सचेतना मधेसका बस्ती बस्तीमा पुर्‍याउन स्थानीय तह र सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिका हुनुपर्ने सिंहको भनाइ छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१ /८२ मा एक करोड नयाँ बिरुवा रोपिने अभियान थालेको बताए। अब गरिने वृक्षारोपण माटो जाँच र रोपिने बिरुवाको वातावरणीय विशेषता निर्क्योल गरेर मात्र रोप्नुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यबारे घनिभूत छलफल गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिए।

सम्मेलनबाट जलवायु अनुकूलनसम्बन्धी विषयवस्तुबारे थप जानकारी प्राप्त गरेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताए। सम्मेलनमा जलवायु अनुकूलन खेती अँगाल्दै आएका कोशी र बागमती प्रदेशका किसान समूह पनि सहभागी छन् ।   

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्