Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृत्रिम बौद्धिकता सामना गर्ने गरी केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्नुपर्छ : आरबीआई गभर्नर

मंगलबार, असोज ८, २०८१

काठमाडौँ- भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरूले २१औँ शताब्दीमा जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, प्रविधि प्रगति र कृत्रिम बौद्धिकता जस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयशम्सेर राणाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै यी सबै विषयमा सतर्कता अपनाउन र समयमै उपयुक्त नीति निर्माण गर्न केन्द्रीय बैंकहरू सक्षम हुनुपर्ने बताएका हुन् । यस्तो चुनौतीपूर्ण समयमा केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्न आवश्यक रहेको उनको तर्क छ ।केन्द्रीय बैंकहरूले सधैं देशको आर्थिक र वित्तीय स्थायित्वको संरक्षकको भूमिका निर्वाह गरेको दासले बताए । हालका वर्षहरूमा विश्वव्यापी वित्तीय संकट, महामारी र मुद्रास्फीति जस्ता चुनौतीले केन्द्रीय बैंकहरूको भूमिकामा परिवर्तन ल्याएको उनको भनाइ थियो ।

आर्थिक स्थायित्व कायम राख्न नयाँ प्रविधि प्रयोग, मुद्रास्फीतिको लक्ष्य ध्यानमा राख्दै वित्तीय स्थायित्व पनि सुनिश्चित गर्न आवश्यक रहेको आरबीआई गभर्नर दासले बताए ।

भारतका सन्दर्भमा आरबीआईले यस्ता चुनौती सामना गर्दै नीति र उपकरण व्यापक प्रयोग गरी देशलाई आर्थिक रूपमा मजबुत बनाएको उनले बताए ।

मुद्रास्फीति नियन्त्रण र आर्थिक स्थायित्वबीच सन्तुलन कायम गर्दै आरबीआईले भारतको अर्थतन्त्रलाई स्थायित्वमा राख्न सफल भएको उनको भनाइ थियो ।

२१औँ शताब्दीका उदीयमान चुनौती सामना गर्दै केन्द्रीय बैंकहरूलाई निरन्तर सुधार र सशक्तीकरणको आवश्यकता भएको उनले बताए । नीतिगत नवप्रवर्तन र सजगता, आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण रहने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्