Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली क्रिकेट: "घरको बाघ वनको स्याल"

बुधबार, असोज ९, २०८१


अशोक सापकोटा ,काठमाडौ - अन्ततः नेपालले लिग २ को जारी शृङ्खलामा अङ्क बटुल्न सफल भएको छ । नेपालले खेलेरै अङ्क बटुल्न नसकेको स्थितिमा वर्षातका कारण भएपनि अङ्क बटुल्न सफल भएको भन्दै समर्थकहरू थोरबहुत खुसी छन् ।

वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपालले आइसिसी वर्ल्ड क्रिकेट लिग-२ मा ओमानसँग अङ्क बाँडेको हो ।

मङ्गलवार को खेलमा ओमानसँग अङ्क बाँडे पनि नेपाल तीन अङ्कसहित तालिकाको सातौँ स्थानमा यथावत् छ।

नेपाली क्रिकेट अहिले निकै खराब स्थितिबाट गुज्रिरहेको छ । नेपालले खेलेका पछिल्ला १० खेलमा नेपालले जित हात पार्न सकेको छैन ।

त्यस्तै ओडिआई क्रिकेटमा नेपाल पछिल्लो आठ खेलमा १ मा मात्र विजयी भएको छ भने १ खेल नतिजाविहीन रहेको छ ।

विशेषगरि नेपाली खेलाडीहरूको समस्या ब्याटिङमा छ , जारी शृङ्खलामा नेपाली खेलाडीहरूले गरेको प्रदर्शनलाई हेर्ने हो भने , रोहित कुमार पौडेल र आरिफ सेख बाहेक कुनै अरू ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेका छैनन् । रोहित र आरिफको प्रदशन पनि त्यस्तो उत्कृष्ट भने होइन तर नहुन भन्दा त्यही नै सही भन्ने कुरा मात्र हो ।

शीर्ष क्रमका ब्याट्सम्यान अर्जुन साउदले पछिल्ला ५ खेलमा गत अप्रिलमा आयरल्यान्ड ए विरुद्ध ३६ रन बनाएको नै सर्वाधिक रन हो । उनको क्लब र देशका लागि खेलेको खेलको विश्लेषण गर्ने हो भने पछिल्ला १० खेलमा उनले अर्ध शतक प्रहार गर्न सकेका छैनन् । हाल अन्तिम ११ मा रहेको उनको विकल्प भनेका कुशल भुर्तेल र अनिल शाह हुन् तर उनीहरूको प्रदर्शन पनि उस्तै छ ।

अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए । नेपालका लागि टी-२० विश्वकप समेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा उनले एक पटक वेस्ट इन्डिज ए विरुद्ध ५८ रन बनाएको बाहेक अन्य कुनै पनि इनिंग सम्झन लायक देखिन्न ।

भुर्तेलको त झनै के कुरा गर्नु उनी त ब्याट्सम्यान बाट कहिले बलर भए पत्तै पाइएन। उनको ब्याट पनि लामो समय देखि मौन रहेको छ । उनी टी-२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिङमा केवल १३ रन बनाएका थिए । यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन रहेको छ भने पाँच पटक त उनी सिङ्गल स्कोरमै आउट भएका छन् ।

त्यसै गरी अर्का ओपनर तथा विकेट किपर ब्याट्सम्यान आसिफ सेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक नै रहेको छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध केवल ११ रन मात्र बनाएका थिए ।

अब कुरा गरौँ नेपालबाट हाल तिन नम्बरमा ब्याटिङ गरिरहेका भीम सार्कीको । नेपालका लागि एक दिवसीय खेलका स्पेस्लिष्ट खेलाडीको रूपमा हेरिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ रन बनाए भने क्यानडाविरुद्धको दोस्रो खेलमा केवल ४ रन मात्र बनाएका छन् ।

पछिल्ला १ दर्जन भन्दा बढी खेलको समीक्षा गर्ने हो भने नेपाली खेलाडीको प्रदर्शन  निकै दयनीय रहेको छ । नेपाली खेलले पछिल्लो एक डेढ वर्षमा ठुलठुला सफलता हासिल गरेको कुरामा कुनै दुई मत छैन ।

तर के ती सबै छनोट खेलहरू नेपालभन्दा बाहिर भएको भए , नेपाल छनोट हुन्थ्यो होला त , भन्ने कुरामा ठुलो प्रश्न चिन्ह खडा भएको छ !

खैर खेललाई त्यसरी हेर्न त मिल्दैन तर नेपालको खेल ओभरकास्ट कन्डिसनमा निकै एक्सपोज भइरहेको छ , ‍यति बेला ।

विशेषगरि नेपाललाई विदेशी भूमिमा खेल्न साह्रै हम्मे हम्मे पर्ने गरेको छ ।

टियुमा खेल  भएको खण्डमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई धेरैले घरको बाघ र वनको स्याल समेत भन्ने गरेका छन् ।

ओभरकास्ट कन्डिसनमा नेपाल निरीह बन्ने गरेको यो पहिलो पटक अवश्य होइन तर नेपालले लगातार विदेशी भूमिमा खराब प्रदर्शन गर्न थालेपछि यति बेला समस्त क्रिकेट समर्थक निराश छन् ।

विशेषगरि नेपाली क्रिकेटरहरू खेल खेल्दा जितको मानसिकता लिएर खेल्दैनन् भन्ने आरोप लाग्ने गरेको छ ।खेल हारेपछि पत्रकारहरूसँग कुरा गर्दा पनि हारलाई उनीहरूले सामान्य लिएको कुरा उनीहरूको जवाफबाट प्रस्ट हुन्छ ।कोसिस गरेकै हो , खेल हो हारजित हुन्छ , हामी सिकिरहेका छौ ,जानीजानी त कोही हार्दैनन् , भन्ने जवाफहरू नेपाली क्रिकेटर र कप्तानबाटै आइरहेको हुन्छ ।

खेल हार्दा जहिले पनि पूर्वाधारकै कुरा हुन्छ , पूर्वाधार हुनुपर्छ तर पूर्वाधार भएरै मात्र खेल सुध्रने भने अवश्य होइन ,त्यसको लागि जित मानसिकताको पनि आवश्यकता हुन्छ । खेल अवधिभर अनुशासित रहनु जरुरी हुन्छ । हारको जिम्मेवारी लिन सक्नु पर्छ ।

सन् २०२२ को अन्त्यमा ,नेपालका कोच मनोज प्रभाकरले आफूले राजीनामा दिएर बिदाइ हुदैगर्दा भनेका थिए जबसम्म नेपालमा यी खेलाडीहरू छन्  तपाईँहरूले जसलाई प्रशिक्षकमा ल्याए पनि फरक पर्दैन, धेरै खेलाडी अनुशासनभन्दा बाहिर छन्, मैले केहीलाई अनुशासनको दायरा भित्र ल्याउन सफल भएँ , केहीलाई भने ल्याउन सकिन , त्यसैले प्रशिक्षक होइन खेलाडी परिवर्तन गरौँ ।

अब कोच प्रभाकर कति सही छन् त्यसतर्फ हामी जान चाहादैनौं ,तर खेलाडी भएर राष्ट्रलाई प्रतिनिधित्व गर्दा जित हार दुवैको जिम्मा लिन सक्नुपर्छ ।

अब नेपालले आउँदो शनिवारबाट यी दुवै टोली विरुद्ध टी-२० आई खेल्दै छ ।

वर्ल्ड क्रिकेट लिग-२ मा एक खेल नजिते पनि नेपाललाई आउँदो टी-२० आई मा राम्रो प्रदर्शन  गर्दै आफ्नो साख बचाउने राम्रो अवसर हुनेछ । नेपालले ओमान र आयोजक क्यानडा दुबैसँग २-२ खेल खेल्नेछ । त्रिकोणात्मक यो शृङ्खला आउँदो शनिवार सुरु भएर बिहीबार सकिनेछ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्