Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वतन्त्र राजनीतिबाट भड्कीएर राजेन्द्र महतोको काखमा पुगेका सुमन सायमी

बुधबार, असोज ९, २०८१

काठमाडौं– राजधानीको रैथाने राजनीतिले चर्चामा थिए, सुमन सायमी। स्वतन्त्र राजनीतिका एक परिचित अनुहार पनि थिए, भलै उनले बालेनसँग स्थानीय तहको निर्वाचनमा ०७९ मा काठमाडौंमा पराजित हुनु परेको थियो। १४ हजार आसपासको मत ल्याएर उनी महानगर प्रमुखको प्रतिस्पर्धाको एउटा परिचित अनुहार बनेका थिए। 

त्यसअघि उनी सडक अभियानका कारण परिचय बनाउन सफल थिए। स्वतन्त्र राजनीतिमा नाम कमाएका सायमी अहिले भने भड्कीएर राजेन्द्र महतोको नयाँ पार्टी खोल्ने अभियानमा पुगेका छन्। अर्थात्, रैथाने स्वतन्त्र राजनीतिबाट महतोको काखमा पुगेको भनी टिप्पणी हुन थालिसकेको छ।

महतोले नयाँ पार्टी घोषण गरेका छन्। गठन बाँकी छ। महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल घोषणा भइसकेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए। 

नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन। पदाधिकारी  र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए। बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ।

यसमा एउटा समूहको अभियानको नेतृत्व सायमीले गरेका थिए। 

बदलिँदो राजनीतिक स्थिति र नयाँको विषयले अहिले सबैतिर तातेका बेला पटक–पटक राजनीतिक लाभ लिएका महतोको छायाँमा सायमी कसरी पुगेका होलान् भन्ने प्रश्न सर्वत्र छ। 

सायमीको पारिवारिक पृष्ठभूमी बामपन्थी भए पनि उनी नयाँ र स्वतन्त्रको अभियानका एक परिचायक बन्ने लयमा थिए। 

कालीमाटीका सायमी २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक विस्तार अभियान चलाएपछि बिचल्लीमा परेकाहरूको आवाज बनेका थिए।

सरकारले सडक विस्तार गर्दा सर्वस्व भएका एकजना साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति–सभ्यताको संरक्षणमा निस्किएका थिए, सायमी।

सायमीका अनुसार सरकारको त्यो सडक विस्तार अभियान बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र न्यायिक थिएन। 

सायमीले त्यसबेला सडक विस्तार पीडित संघर्ष समिति बनाएर त्यसको नेतृत्व गरेका थिए। यसपछि उनको राजनीतिसम्म पुग्ने दायराको खाका कोरिएको थियो। 

स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए। उनको चुनाव चिहृन आँखीझ्यालमा १३ हजार ७७० मत खसेको थियो।
चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए। ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’मा स्वतन्त्रहरूलाई एकीकृत गर्ने प्रयास उनैले गरेका थिए। 

गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ मा सायमी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। श्रेष्ठले १० हजार १०५ मत ल्याउँदा सायमीले ६ हजार १७४ मत पाएका थिए।

कमेडियन अपूर्व क्षितिज सिंहलाई थुन्न सायमीको भूमिका रहेको आरोप छ  विवादित भिडिओ डिलिट गरेर पटक–पटक माफी माग्दा समेत सिंहलाई लामो समय थुनिएकोमा नेवार समुदायकै पनि कतिपय युवाबाट विरोध भएको थियो।

चुनावी राजनीतिमा प्रतिकूल अवस्था बनिसकेपछि अब सायमी महतोको अभियानमा जोडिएका छन्। के उनलाई यो अभियानले सफलताको बाटोतिर लम्क्याउला? 

-रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ– सम्पादक

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्