Nic Ad Nic Ad
Nic Ad Nic Ad

 केराउ, मरिच र सुपारीको आयात खुल्यो

बुधबार, असोज ९, २०८१

काठमाडौँ - सरकारले दशैँको मुखैमा आएपछि केराउ, मरिच र सुपारीको आयात खुलाएको छ । ७ असोजमा राजपत्रमा सूचना प्रकाशित गर्दै सेतो र कालो मरिचका साथै केराउ र सुपारिको पनि आयात खुला गरेको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनामा ‘आ.व. २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरिचको पैठारी गर्न अनुमति दिने निर्णय गरेको’ भनिएको छ ।

सरकारले ‘उत्पादन मुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवस्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधी २०७८ को प्रक्रिया पूरा गरी’ आयात खुला गरेको जनाएको हो ।

सरकारले औद्योगिक प्रयोजनभन्दा बाहेकका लागि भने यी वस्तु आयात गर्न नपाइने भनेको छ । यद्यपि, औद्योगिक प्रयोजनका लागि आयात खुला भएपछि यसले बजार मूल्यलाई धेरै नबढ्ने अवस्था आउने अनुमान व्यवसायीले गरेका छन् ।

सरकारले २०७६ चैत २४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, केराउ र मरिचको आयात प्रतिबन्ध लगाएको थियो । त्यसपछि २०७८ मा कार्यविधी बनेसँगै सरकारले पटके निर्णय गरेर यी वस्तुको आयात खुला गर्दै आएको छ ।

गत साल कात्तिक पहिलो हप्तामात्रै आयात खोलिएकोमा यो साल असोजकै पहिलो हप्तामा आयात खोलिएको हो । पोहोर दशैँ कात्तिकमा परेकाले कात्तिकमा खोलिए पनि यो साल दशैँ असोजमै परेका कारण चाँडो खोलिएको मन्त्रालयका एक अधिकारीले बताए ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्