Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रसङ्ग

फैजान र जमिम शाहको हत्या सन्दर्भ, भारतीय दूतावासमा हुन्छन् रअ अधिकारी!

बिहीबार, असोज १०, २०८१

काठमाडौं– १३ बर्षअघि असोज महिनाका बेला काठमाडौंको घन्टाघरमा फैजान अहमदको हत्या हुन्छ। त्यसको दुई बर्षअघि ०६६ मा जमिम शाहको हत्या भएको थियो। 

यो विषय लामो समयसम्म चर्चा रह्यो। र, गएको वैशाखमा नेपाली मिडियामा एक पटक फेरि चर्चामा आएको थियो। कारण थियो, एउटा पडकास्टमा उठेको सन्दर्भ र भनाई।

भारतको बाह्य गुप्तचरी निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)मा काम गरेका एजेन्ट लिमाको पडकास्टले जमिम शाहको हत्याबारे सनसनी ल्यायो। तर, यस विषयमा नेपाल सरकारले छानबिन गर्ने कुनै हिम्मत गरेन, फेरि पनि।

स्पटिफाईसँगै राज समानी युट्युब च्यानलमा अपलोड भएको संवादको ५६ औं मिनेटपछि एजेन्ट लिमा भनेर चिनिएका लक्ष्मण सिंह विष्टले जमिम हत्या प्रकरणको सन्दर्भको उठान गरेका थिए।

एक जना केबल अपरेटरलाई विदेशी मुलुकमा इलिमिनेट गरेको अर्थात्  मारेको सन्दर्भ सुनाउँछन्।

केबल किङ भनेर चिनिएका सञ्चार उद्यमी जमिम शाह हत्या प्रकरणबारे लिमाले सांकेतिक रुपमा बताएका छन्। 

लिमा भारतीय सुरक्षा फौजका तिनै सार्प सुटर हुन्, जसले कठिन काउन्टर अपरेशनमा खटिने भारतको नेश्नल सेक्यूरिटी गार्ड (एनएसजी) मा समेत काम गरिसकेका छन्। 

उनीमाथि हुसेन जहिदीले ‘रअ हिटम्यानः द रियल स्टोरी अफ एजेन्ट लिमा’ नामक पुस्तक नै लेखेका छन्। यिनै लिमाले सन् २००७ को वरिपरि कुनै देशमा एउटा अपरेशन गर्नुपर्ने, त्यसका लागि डेढ करोड रुपैयाँ जरुरी परेको पडकास्टमा सुनाएका छन्।

जमिमको हत्यापछि सोही शैलीमा फैजान अहमदको घन्टाघरअघि हत्या भएको थियो।  

फैजान अहमद तथा स्पेस टाइमका सञ्चालक जमिम शाहको हत्या एवम् युनिस अहमदको हत्या प्रयास एउटै शृङ्खलाका घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

यस सम्बन्धमा प्रहरीले पत्रकार सम्मेलनमा हत्यकाण्डका सहयोगी एक नेपालीलाई सार्वजनिक गरेको थियो। रामेछाप गोश्वारा घर भइ धापाखेल बस्ने २७ वर्षीय ट्याक्सी चालक धनबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो।

बा१ज ५५७० नम्बरको ट्याक्सी चलाउँदै आएका उनले गोली हान्ने सुटरलाई घटनास्थल लगेर हत्यापछि भगाउनुका साथै हत्यामा प्रयोग भएका हतियार लुकाउने काम गर्दै आएका थिए।

उनको डेराबाट प्रहरीले एक थान अमेरिकी पिस्तोलका साथै छ राउण्ड गोली बरामद गरेको थियो। 

उनीहरूमा भारतको लखनउ घर भएका आदित्य पाल, भारत उत्तर प्रदेशको आजमगढ घर भएका सुटर फहद आलम तथा भारत उत्तर प्रदेशको वढनी बस्ने बब्बु भनिने त्रिलोक सिंह भन्ने खुलेको थियो। 

तीमध्ये पाल फैजानको हत्याअघि सात महिनासम्म काठमाडौं बसेका थिए भने त्रिलोक सिंह जमिम शाह हत्याको मुख्य योजनाकार हुनुका साथै फैजान हत्याको कोअर्डिनेसन गरेको तत्कालिन सीआईबी प्रमुख उपेन्द्रकान्त अर्यालले बताएका थिए।

नेपालमा मुस्लिम लिग या पाकिस्तानसँग सम्बन्ध रही भारतीय नक्कली नोटको कारोबार गरेको अभियोगका सन्दर्भ यी हत्यामा जोडिन्छन्। योसँगै अनुसन्धान सफल नहुनु, हत्यारा पक्राउ नपरेका घटनामा भने लिमाले भनेजस्तै भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्सको प्रत्यक्ष वा परोक्ष संलग्नताको विषय पनि जोडिन्छ। 

रअबारे सार्वजनिक गरिएका कतिपय पुस्तकले पनि यस्ता विषयमा संलग्नता रहेको हुनसक्ने सुविधा दिन्छ। 

रअका एजेन्टलाई पनि प्रायः विदेशस्थित भारतीय दूतावासमा तैनाथ गरिन्छ। कुनै बेला उनीहरूलाई नक्कली नाम दिएर बाहिर पठाइन्छ। 

खोज पत्रकार यतीश यादवले आफ्नो किताब ‘रअः ए हिस्ट्री अफ इन्डियाज कोभर्ट अपरेसन्स’ मा लेखेका छन्, ‘त्यसको पछाडिको कारण यो हो कि उनीहरूको वास्तविक नाम सिभिल सेवाको सूचीमा हुन्छ। एक पटक रअमा काम गरिरहेका विक्रम सिंहलाई विशाल पण्डित बनेर मस्को जानु परेको थियो। उनका परिवारका सदस्यहरूले पनि पहिचान परिवर्तन गर्नु परेको थियो। यदि विदेशमा पोस्टिङ भएका बेला बच्चा जन्मियो भने उसको थर पनि नक्कली राखिन्छ जुन आजीवन रहिरहन्छ।’

रअका प्रमुख रहिसकेका अमरजीत सिंह दुलतले सुनाएको प्रसङ्गबारे पनि केही विवरण सतहमा आएका छन्। उनले भनेका थिए,‘हाम्रो एक कश्मीरी साथी हाशिम कुरैशीले पहिलो पटक भारतको विमान अपहरण गरेको थियो। देशबाहिर कतै भेट भयो। हात मिलाउँदा मैले मेरो नाम दुलत हो भनें।’
मिशनमा रहेका रअ अधिकारीको परिचय खुल्ने डर सधैँ रहन्छ। पेशेवर गुप्तचर निकै चाँडो चिनिन्छन्। 

आईएसआई पाकिस्तानको गुप्तचर निकाय हो त्यसैले रअसँग उसको तुलना स्वाभाविक हुन्छ। रअका पूर्वप्रमुख विक्रम सूदले आफ्नो किताब ‘द अनएन्डिङ गेम’मा लेखेका छन्, ‘यी दुई एजेन्सीलाई तुलना गर्ने हो भने पक्राउ गर्ने अधिकार रअलाई छैन, रअले देशभित्र पनि जासुसी गर्दैन, जबकि आईएसआईले सबै गर्छ। रअ देशको प्रधानमन्त्रीप्रति जबाफदेही हुन्छ भने आईएसआईले सेना प्रमुखलाई रिपोर्ट गर्छ। तर, कागजमा उनले प्रधानमन्त्रीलाई रिपोर्ट गर्ने लेखिएको छ।’
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्