Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोबाइल बैंकिङबाट सास्ती खेप्दै साना व्यापारी 

बिहीबार, असोज १०, २०८१

काठमाडौं- पछिल्लो समय मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा चर्को आलोचना भइरहेको छ। हिजोआज मोबाइल बैङ्किङ कारोबार गर्दा हरेक पटक ११ रुपैयाँभन्दा धेरै शुल्क लाग्ने गरेको छ । यसबाट साना डिजिटल कारोबारी मर्कामा परेका छन् ।

साना डिजिटल कारोबारमा उपभोक्ताले शुल्क बापत १० रुपैयाँ र त्यसमा १३ प्रतिशत भ्याटको १ रुपैयाँ ३० पैसा गरेर ११ रुपैयाँ ३० पैसा तिर्दै आएका छन्। सामान्यतया कुनै त्यतिले दिनमा ५ वटा डिजिटल कारोबार गर्छ भने,  जसको प्रत्येक कारोबारमा रु ११।३ शुल्क लाग्छ। यसरी हेर्ने भने दैनिक रूपमा ५६।५ अतिरिक्त शुल्क लाग्नेछ। त्यसै गरी मासिक रूपमा रु १६९५ र क्रमशः वार्षिक रूपमा २०३४० भन्दा बढी केबल कारोबार शुल्कमै जान्छ। यसरी समग्र हेर्दा साना डिजिटल कारोबारीको लागि यो ठुलो रकम हो।

डिजिटलाइजेसनका माध्यमबाट सेवामा सहजता, सरलता, कारोबार लागतमा कमी, छिटो छरितो सेवा, सुरक्षित एवं मानवीय गल्ती कम हुने हुँदा आकर्षण बढ्दै गएको थियो। तर एकाएक मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक बढेपछि साना डिजिटल कारोबारी आक्रोश भएका छन्।

मर्चेन्ट क्यूआरमा यस्तो शुल्क नलाग्ने भए पनि व्यक्तिगत खातामा भुक्तानी गर्दा वा रकम ट्रान्सफरको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले यस्तो शुल्क तिर्नुपर्ने हुन्छ ।

सामाजिक सञ्जालमा अहिले यस विषयको चर्को विरोध भइरहेको छ । तर पनि यस विषय अहिलेसम्म कुनै पनि सम्बन्धित निकायले चासो देखाएका छैनन् । केही दिन अगाडी प्रधानमन्त्री केपी शर्माले आफ्नो फेसबुकमा लेख्दै भनेका थिए, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौँ । इन्टरनेटको सहजताले होला, सानो सानो कारोबारमा पनि हामी क्यास लेस गर्न अभ्यस्त छौँ । हामीलाई सधैँ झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’

तर अहिले प्रधानमन्त्री ओली अमेरिकामा छन् । उनी फर्किएपछि यो समस्या हल हुने धेरैले अनुमान गरेका छन् । सरकारले देशलाई डिजिटल बनाउने, क्यासलेको अवधारणा ल्याउने घोषणा गरे पनि यो व्यवस्थाले धेरैलाई निरुत्साहित गर्ने र क्यास कारोबारमा प्रोत्साहित गर्ने आम नागरिकको गुनासो रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्