Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीगण्डकी करीडोर : जोमसोम-कागबेनी खण्डमा कालोपत्र

शुक्रबार, असोज ११, २०८१

म्याग्दी - राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ ।  

जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । 
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए। कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । 

जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ । 

पच्चीस किलोमिटर लामो चराङ-छोसेर खण्डमा  ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्