Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर)दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरूप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे । उनले पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे । 

चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।  उनले नेपालको विकास प्रयासमा चीन सधैँ साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने जानकारी गराए । 

बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री  पौडेल र चाइना ईन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच भेटवार्ता भएको थियो । त्यस क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गरेका थिए ।

उनले विगतमा भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनका लागि आपसी सहमतिमा समयबद्ध कार्यतालिका निर्माण गर्न जोड दिनुका साथै आगामी दिनमा अझ महत्त्वपूर्ण सहयोगका लागि अनुरोध गरे । सिड्काका अध्यक्षले पूर्वसहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्ने जानकारी दिएका थिए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बुधबार चीनका अर्का उपप्रधानमन्त्री हि लिफेङ भेटवार्ता गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्