लासको ३० टुक्रा पारेर फ्रिजमा राखिएकी महालक्ष्मीको पुर्ख्यौली घर देउवाको गृह जिल्ला
काठमाडौं– ६ दिनअघि लासको ३० टुक्रा पारी फ्रिजमा राखिएको अवस्थामा फेला पारिएकी एच महालक्ष्मी दासको पुर्ख्यौली घर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा रहेको खुलेको छ।
२९ वर्षीया मृतक महालक्ष्मी दासको परिवार झारखण्डमा बस्दै आएको थियो। बेंगलुरुको व्यालिकवल क्षेत्रमा बस्दै आएकी उनको लास फेला परेपछि स्थानीय प्रशासनले हत्या गरिएको मितिचाहिँ १२ दिनअघिको भन्ने पत्ता लगाएको छ।
फरेन्सिक ल्याबमा लासको पोस्टमार्टम गर्न पठाइएको थियो।
सुरूमा उनी बस्ने फ्ल्याटबाहिर दुर्गन्ध आएपछि घरधनीले उनको परिवारलाई फोन गरेका थिए। घरधनीले फोन गरेपछि महालक्ष्मीकी आमा र बहिनी फ्ल्याटमा पुगेका थिए।
महालक्ष्मी डडेल्धुराको आलिताल गाउँपालिका–४ लामजिल्ले घर भएका करनसिंह रानाकी छोरी रहेको खुलेको छ।
महालक्ष्मीका बुवा करनसिंह राना रोजगारीका लागि भारत गएका थिए। उनले डडेल्धुराबाटै बिहे गरेर भारतको ब्याङ्लोरमा बस्दै आएको आलिताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमलसिंह बोहराले बताए।
यता महालक्ष्मीको हत्या गरेको अभियोग लागेका युवाले आत्महत्या गरेको भारतीय मिडियाले जनाएका छन्। मुक्ति रञ्जन रोय नाम गरेका ती युवाले महालक्ष्मी नामकी नेपाली युवतीको हत्यागरी उनको शवलाई धेरै टुक्रा पारेर फ्रिजमा राखेको आरोप लागेको थियो।
प्रहरीले अभियुक्तको निरन्तर खोजी गरिरहेको थियो। तर, सेप्टेम्बर २५ मा मुक्तीको शव ओडिशाको एउटा गाउँ नजिकै भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
रिपोर्टका अनुसार रोयले एक सुसाइड नोट पनि छोडेका छन्, जसमा उनले हत्या स्वीकार गर्दै यो अपराध गरेर गल्ती गरेको लेखेका छन्।