खेलाडीको माग पुरा नहुँदा सुदूरपश्चिमले खायो ६९ गोल
काठमाडौ - नेपाली महिला लिगको दोस्रो चरण खेल्ने टिमहरूको टुगों लागेको छ । विभागीय टोलीहरू एपिएफ फुटबल क्लब, आर्मी फुटबल क्लब र नेपाल पुलिससँगै वालिङ नगरपालिका र कोसी प्रदेशले महिला लिगको दोस्रो चरण खेल्ने भएका छन् ।
पहिलो चरणको खेलपछि अङ्क तालिकाको शीर्ष ५ टोली दोस्रो चरणमा पुग्ने प्रावधान रहेको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घले दोस्रो चरण दसैँपछि गर्ने बताएको छ ।
बागमती, संकटा, चन्द्रपुर, कर्णाली र सुदूरपश्चिम भने पहिलो राउन्ड मै सीमित हुन पुगे। सुदूरपश्चिम क्लबलाई त यो प्रतियोगिता बिर्सन लायक नै बन्न पुग्यो । सुदूरपश्चिमले आफ्नो ९ खेलमा एक जित पनि निकाल्न सफल भएन । बराबर खेल्न पनि सकेन । मतलब आफ्नो ९ वटै खेलमा हार्न पुग्यो ।
यसका साथै, यस प्रतियोगितामा सुदूरपश्चिमले ९ खेलमा ६९ गोल खाएको छ भने जम्मा ३ गोल मात्र गर्न सफल भएको छ । दोस्रो धेरै गोल खानेमा कर्णाली प्रदेश रहेको छ जसले जम्मा २१ गोल मात्र खाएको छ । गणितीय रूपमा हेर्ने हो भने कर्णालीको भन्दा सुदूरपश्चिमले तेब्बर बढी गोल खाएको देखिन्छ ।
सुदूरपश्चिमले विभागीय टोली एपिएफसँग सर्वाधिक १९ गोल खाएको थियो भने कोसी प्रदेश र चन्द्रपुर नगर पालिकासँग सबै भन्दा कम ४ गोल खाएको थियो । प्रतियोगिता अवधि भर सुदूरपश्चिम यस्तो टिम बनेको थियो जसलाई सहजै जितेर अन्य टिमले ३ अङ्क हासिल गर्न सफल भए । कर्णालीले पनि यसको फाइदा उठाएर र चन्द्रपुर नगरपालिकासँग बराबरी गरेर अङ्क तालिकाको अन्तिम हुनबाट बचेको छ ।
कुनै टिमले खराब प्रदर्शन गर्नुको भित्री कारणहरू हुने गर्छन् । सुदूरपश्चिमको मैदानमा फितलो प्रदर्शनको कारण थियो, प्रदेश फुटबल सङ्घ र बन्द प्रशिक्षणमा बसेका खेलाडी बिचको विवाद । सुदूरपश्चिम प्रदेशले साउन ९ गतेदेखि सुरज तामाङको नेतृत्वमा २६ जना खेलाडीलाई बन्द प्रशिक्षणको तालिम दिइरहेको थियो । बन्द प्रशिक्षणमा रहेका ती २६ जना खेलाडी मध्ये जम्मा २ जनाले मात्र महिला लिग खेलेका छन् ।
एन्फाले महिला लिगको कोचका लागि बि लाइसेन्स हुनुपर्ने प्रावधान राखेपछि सुदूरपश्चिमले सुरज तामाङलाई हटाएर दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनाएको थियो । खेलाडीहरूले प्रशिक्षक परिवर्तनमा सन्तुष्ट देखाएका थिएनन् । साथै, खेलाडीहरूले बन्द प्रशिक्षणमा बसेका सबै २६ खेलाडीलाई नै एकमुष्ट काठमाडौँ ल्याउनुपर्ने माग राखेका थिए । तर बजेटको कमीले सुदूरपश्चिम खेलाडीको माग पुरा गर्न नसक्दा खेलाडीहरू घर मै बस्न बाध्य भए ।
दिनेश लामा योञ्जनले अपर्याप्त तालिमका बाबजुद पनि नयाँ १६ जना खेलाडी काठमाडौँ ल्याएर महिला लिग खेलाए । जसको नतिजा सुदूरपश्चिमले आफ्नो सबै खेलमा लज्जास्पद हार्नु पर्यो ।