बर्षाको बितण्डाः ३१ बर्षपछि खोलियो कुलेखानी ड्यामको ढोका
काठमाडौं– निरन्तरको बर्षाको बितण्डाका कारण विभिन्न ठाउँमा बाढी पहिरोको सन्त्रास बढ्नुका साथै जलाशय भरिन थालेका छन्।
शुक्रबार बेलुकासम्म भरिएको कुलेखानी ड्यामको ढोका ३१ बर्षपछि शनिबार बिहान खोलिएको छ।
२०५० सालपछि दोस्रो पटक बिहान ५ः४० बजे ड्यामको ढोका खोलिएको छ।
नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो। जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ। अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो।
अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ। कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०७:३८
प्रतिक्रिया दिनुहोस्