बाढीपहिरोमा परेर ९ जनाको मृत्यु
काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी सात जना घाइते र सात जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । बाढी–पहिरोमा परेर धनकुटामा दुई, पाँचथरमा दुई, काभ्रेमा तीन, झापामा एक र ललितपुरमा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरीले पुष्टि गरेको छ । तर, राष्ट्रिय अनुसन्धान विभागले भने काभ्रेमा पाँच जनाको मृत्यु भइसकेको जनाएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।
बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनको भनाइ छ । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् ।
२८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।