Nic Ad Nic Ad
Nic Ad Nic Ad

सप्तकोशी ब्यारेजमा ६ लाख क्युसेक पानी बहाब कट्यो, पानी बस्तितिर

शनिबार, असोज १२, २०८१

विराटनगर- सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव विस्फोटक अवस्थामा पुगेको छ । शनिबार राति ९ बजेसम्मको मापनमा कोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख क्युसेक नाघेको छ ।

पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जोड्ने कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाटै बाढी बगिरहेको छ ।

पछिल्लो समय कोशी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार ६ लाख क्युसेक पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । कोशी ब्यारेज भएर पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले जानकारी दिए ।

बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव उच्च भएपछि सवारी तथा मानिसको अवागमनमा अर्को सूचना जारी नहुनजेलसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

पानीको बहावले विस्फोटक रुप लिन थालेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। ब्यारेजका सबै ढोका खोलिँदा पनि पानी पुलमाथिबाट गइरहेको छ ।

त्यहीकारण अहिले कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ । बाढीले विस्फोटक रुप लिएपछि भारतले बिहारतर्फ बिहानैदेखि उच्च सतर्क अवस्थामामा सरकारी निकायलाई राखेको छ ।

भारतको निगरानीमा रहने कोशी ब्यारेजको पुलमा सवारी साधन चलाउन पनि निषेध गरिएको छ ।सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरेको छ । तर अहिले कोशीमा पानी त्यसको चार गुणाभन्दा धेरै पुग्दा पुल नै जोखिममा परेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्