Nic Ad Nic Ad
Nic Ad Nic Ad
फरक मत

रास्वपाले मानवीय संवेदनालाई राजनीतिक रङ्ग दियो, जता ततै आलोचना

सोमबार, असोज १४, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको बिरोधका नाममा मानवीय संवेदनालाई राजनीतिक रङ्ग दिएपछि त्यसको सर्वत्र आलोचना भएको छ। 

केन्द्रीय समितिको बैठक बसी तयार पारेको विज्ञप्तिमा नै अहिले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलगायत पीडितलाई आघात हुनेगरी ‘दुई दिनको पानीले दुई तिहाई’को सरकारको हैसियत देखाइदियो भनी लेखिएको छ।

यो आधिकारिक दस्ताबेजमा कार्यबाहक प्रवक्ता तथा सांसद मनिष झाले हस्ताक्षर गरेका छन्। बैठकपछिको पत्रकार सम्मेलनका क्रममा पनि झाले सोही टिप्पणी गरेपछि उनको ब्यापक आलोचना भएको थियो। 

सरकारले पूर्वसूचना हुँदा पनि पूर्वतयार र प्रतिकार्य नगरेको कमजोरीका विषयमा आलोचना गर्न सकिने भए पनि दुई दिनको पानीले दुई तिहाईको सरकारको हैसियत देखायो भनेर व्यंग्य गर्दा सरकारको आलोचना नभई पीडितको पीडामा नुन चुक छर्किने अर्थ लाग्छ। 

उसको आधिकारिक विज्ञप्तिमा उल्लेख गरिएको विषयबस्तु यस्तो छ
 

विक्रम संवत् २०८१ असोज १३ गते
नेपाल संवत् ११४४ ञंलागा द्वादशी

विज्ञप्ति

विगत केही दिनयता देशभर परिरहेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित भई जीउधनको क्षति व्यहोर्नु परेका सम्पूर्ण नेपालीहरुप्रति हामी गहिरो दु:ख तथा समवेदना प्रकट गर्दछौं । देशभर व्याप्त विपद्को परिस्थितिमा नागरिकलाई आपत् पर्दा जिम्मेवार सरकार छ भन्ने अनुभूत हुने किसिमले उद्धारकार्यमा यथोचित सक्रियता देखाइएको नपाइनाले सरकार आमजनताका जीवनप्रति संवेदनहीन रहेको तथ्य उजागर गरेको छ । दुई दिनको वर्षातले दुई तिहाईको सरकारको हैसियत देखाइ दिएको छ । यो सरकार असंवेदनशील, अकर्मण्य, अक्षम, असफल सावित भएको छ ।

राज्यमा सरकारबाट नागरिकको अभिभावकीय भूमिकाको अपेक्षा गरिएको हुन्छ । राज्य संयन्त्रले विपद्का अवस्थामा तत्काल उद्धार तथा राहतका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने कुरा आधारभूत विषय हो । प्राकृतिक प्रकोपको चपेटामा पर्न सक्ने क्षेत्र र सर्वसाधारणको पहिचान गरी उनीहरु सुरक्षा, पुन:स्थापनाका लागि राज्यले यथोचित गृहकार्य र तयारी गर्ने, विपत्तिमा रहेका नागरिकहरुको उद्धारका लागि पुर्वानुमान सहित आवश्यक उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने, सम्भावित परिस्थितिको विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्ने, प्राप्त सूचना अनुरुप घटनास्थलमा योजनाबद्ध रुपमा उद्धार टोली परिचालन गरी प्रभावित तथा पीडितको सुरक्षामा सक्रियतासाथ परिचालन गर्ने कार्यहरु राज्य संयन्त्रबाट हुनुपर्दछ । तर मोबाइल सन्देशमार्फत् नागरिकलाई सुरक्षित, सतर्क रहन सचेत गराउने औपचारिकतामा सीमित सरकार जिम्मेवार ढंगले पीडित नागरिकहरुको उद्धारमा सक्रियता प्रदर्शन नगर्नुप्रति रास्वपा खेद प्रकट गर्दछ ।

आजको विपत्तिको समयमा समेत सरकार प्रमुख अमेरिका घुम्दै बस्ने तर बाढी पहिरोको त्रासमा रहेका आमसर्वसाधारणको उद्धारमा यथोचित तदारुकताका प्रस्तुत नगर्ने राज्य संयन्त्र जनताका लागि समर्पित रहेको मान्न सकिन्न । निहत्था नागरिकबाट समाधानको आशा राख्ने स्रोतसाधन सम्पन्न राज्य संयन्त् विलम्ब गरी घटनास्थलमा पुग्ने कुरा कदापि स्वीकार्य हुनसक्दैन । पीडित जनताको यथाशीघ्र उद्धार, राहत तथा पुर्नस्थापनामा सरकारले अपेक्षित भूमिका निर्वाह गर्न जोडदार माग गर्दछौं ।

आमसर्वसाधारणको जीवन, सम्पत्ति, आवास र वासस्थानको सुरक्षाका लागि सरकारले भौगोलिक वस्तुस्थितिको वैज्ञानिक मूल्यांकन गरी विपद् बिमा सम्बन्धी नीतिगत प्रावधान समेत गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं । साथै विपद् व्यवस्थापन तथा उद्धारकार्यमा राज्य संयन्त्रमा अहिले देखिएको गैरजिम्मेवारी आगामी दिनमा नदोहोरियोस् भनी सम्बन्धित निकायहरुलाई सचेत गराउँछौं ।

मनिष झा
प्रवक्ता (कार्यवाहक)

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्