Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुःख दिएन यस पटक नारायणगढ-मुग्लिन सडकले

सोमबार, असोज १४, २०८१

चितवन- तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ-मुग्लिन सडकले भने यस पटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्थानीय प्रशासनले यो सडक खण्डमा आवतजावत बन्द गर्यो । विगतमा एकै पटक पहिराले दुई वटा बस त्रिशूलीमा खसालेको घटनाबाट पाठ सिकेर प्रशासनले समयमै सावधानी अपनायो ।

तीन दिनसम्मको वर्षाले नौ किलोमा सडक भासिएको थियो भने केराबारी, टोपीखोला, घुमाउने र सिमलतालमा माथिबाट खसेको पहिरो समयमै पन्छाएर आइतबारदेखि सडक नियमित सञ्चालनमा आयो । सडक बन्द गरिएको समयमा अत्यावश्यक सवारीसाधन आधा घण्टाभन्दा बढी रोकिनु परेको थिएन ।राजधानी काठमाडौँ आवतजावत बन्द भए पनि यो सडक खण्ड आइतबार बिहानबाटै नियमित सञ्चालनमा छ । सोमबार यो सडक खण्ड यात्रा गर्दा सवारीसाधनहरू बिना अवरोध सरर हुइँकिरहेका देखिन्थे ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा भेटिएका बा प्र.०३–००१च ०३४२ नम्बरका बोलेरो चालक नवीन गुरुङ मुग्लिन कटेपछि आनन्दको श्वास फेरेको बताए । काठमाण्डौँबाट आज बिहान सबेरै हिँडेका गुरुङले काठमाडौँको सितापाइलाबाट रामकोट हुँदै धार्के निस्केर आएको सुनाए । उनले भने, “यो सडक छिरेपछि खासै दुःख छैन ।”

सोही सडक हुँदै नारायणगढतर्फ आउँदै गरेका बा.प्र.०३–२६ च ४१६१ नम्बरको बोलेरो चालक आशिष गुरुङ काठमाडौँबाट आउँदा पृथ्वी राजमार्गले निकै दुःख दिएको गुनासो गरे । विगत समयमा नारायणगढ–मुग्लिन सडक खण्डले दुःख दिने गरेको भन्दै अहिले भने निकै सहज भएको बताए ।

गोरखाबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ७५७ नम्बरको बसका चालक श्यामबहादुर हुमागाईँ नारायणगढ–मुग्लिन सडक खण्ड सहज भएको बताउँदै आजै गोरखा फर्किने बताए । दास ढुङ्गामा भेटिएका उनले अन्यत्र ठूलो क्षति भए पनि यो सडक खण्डमा पहिरोले धेरै समस्या नदिएको बताए ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा ०१०२९ च ४५९४ नम्बरको विद्युतीय (इभी) माइक्रो गाडीका चालक नकुल पराजुली मुग्लिन कट्दासम्म कुनै समस्या नभएको बताए । लेवाटारमा गाडी चार्ज गरिरहेका पराजुलीले ठूलो वर्षा भए पनि सडकमा दुःख नपाएको बताए ।

यो सडक पूर्ण रूपमा सञ्चालनमा आए पनि काठमाडौँ प्रवेश गर्ने सडकमा अझै समस्या हुँदा यहाँ सवारीको चाप निकै कम देखिन्छ । पोखरा, बेसीशहर, गोरखा, बाग्लुङ लगायतका ठाउँबाट आएका सवारीसाधन धेरै भए पनि काठमाडौँबाट आएका सवारीसाधन निकै कम छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मा यो वर्षातमा नारायणगढ–मुग्लिन सडकले दुःख नदिएको बताउँछन् । उनको भनाइमा एक ठाउँमा सडक धसिएको र केही ठाउँमा साना पहिरा खसेको छ । नौ किलोमा दुई फिट सडक भासिएको थियो । झण्डै १० मिटर लामो भागको आधा सडक भासिएपछि एकतर्फी सडक सञ्चालनमा आएको थियो । त्यसलाई ग्राभेल हालेर मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

सडक खण्डको केराबारी, टोपेखोला, घुमाउने र सिमलतालमा साना पहिरा खसेको भए पनि धेरै दुःख नदिएको उनी बताउँछन्। उनले भने, “नारायणगढ–मुग्लिन सडक बढीमा आधा घण्टाभन्दा धेरै रोकिनु परेन ।” अहिले पनि उच्च सावधानीका साथ काम गरिरहेको शर्माको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समयमै आवागमन बन्द गराएर हुन सक्ने जोखिमबाट बच्न सकिएको बताउँछन् । नारायणगढ–मुग्लिन सडकमा यो वर्षामा खासै पहिरो खसेको छैन । रातको समयमा कुनै अप्रिय घटना नहोस् भन्नका लागि समयमै सावधानी अपनाइएको उनी बताउँछन् । उनले भने, “चालक र यात्रुको उच्च दबाबका बाबजुद हामीले सवारी रोकेर सावधानी अपनायौँ ।”

सो सडकमा द्रुत उद्धार टोली तयारी अवस्थामा राखेर काम भइरहेको उनी बताउँछन्। डिभिजन सडक कार्यालय, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, सशस्त्र प्रहरी लगायत सबै तम्तयार अवस्थामा रहेर सडक सहज सञ्चालनमा जुटेको उनको भनाइ छ ।

सवारीसाधनलाई नियमन कडाइका साथ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०० र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५१ मा उल्लेख भएअनुसार यात्रुवाहक सवारी चालकले चलानीमा यात्रुको पूरा विवरण भरेर प्रहरी पोस्टमा बुझाउनुपर्ने हुन्छ ।

यो व्यवस्था भए पूर्ण रूपमा लागू नभएकोमा मङ्गलबारबाट कडाइका साथ लागू गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार चालकलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर ट्राफिक नियम पालना गर्न लगाइँदै छ ।

चाडपर्वको क्रममा सवारी चाप निकै बढ्ने भएकाले खाद्यान्न बाहेकका सामग्री बोकेका १४ चक्काभन्दा बढीका सवारीलाई प्रस्थान बिन्दुमै रोक्न पत्राचार गरिएको छ । यो सडक हुँदै यसरी सामग्री बोकेर आउने सवारीसाधन भैरहवा र वीरगन्जबाट आउने गर्दछन् ।

यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । राजधानीको लाइफलाइनका रूपमा नारायणगढ–मुग्लिन सडक खण्डलाई लिने गरिन्छ । गएको असार २८ गते यसै खण्डको सिमलतालमा दुई वटा बस पहिराले बगाउँदा धेरैले ज्यान गुमाउनुपरेको थियो ।कतिपय अझै बेपत्ता छन् । बस अझै फेला परेको छैन । त्यति बेला पनि पहिले पहिरो नखसेको ठाउँमा अकस्मात् लेदो बगेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्