Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

सोमबार, असोज १४, २०८१

काठमाडौँ- राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहेका छन् । उनका आँखाले कसैलाई खोजिरहेका छन् । उनका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।

रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइते भएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ ।चिन्तित मुद्रामा रिमालले भने, “म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।” आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी रु

रिमालको दायाँ पट्टीको करङ फुस्किएको छ । उनको उक्त भाग चलेको छैन । मङ्गलबार अपरेसन हुने भनिएको छ । चौरी देउराली गाउँपालिका-६ काभ्रेका रिमाललाई शनिवारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ । उनलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् । रिमाल छेउकै घरको बार्दलीमा बसिरहेका थिए । बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन । एक्कासी माथिबाट आएको पहिरोले घर पुर्यो । हेर्दाहेर्दै श्रीमती पुरिइन् ।

पहिरोमा परेको दुई घण्टासम्म उनले उद्धारका लागि गुहार गरे । हारगुहार गर्दागर्दै बेहोस भए । चार घण्टापछि होस खुल्दा उनले आफूलाई एकै पटक अस्पतालका बेडमा पाए । आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताए । गला अवरुद्ध पार्दै उनले भने, “विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो ।”

ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुन् । शनिबार लगातार वर्षा भइरहेको थियो । गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उनलाई हुत्त्याएर पानीमा लग्यो । तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो । उनकी श्रीमती सीताले आइतबार दिउँसो ३ बजेतिर थप उपचारको लागि उनलाई ट्रमा ल्याएको बताइन। सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ ।

हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ । उनीहरूमध्ये छ जना उपचारपछि घर फर्किएका छन् । सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामेछाप, दोलखा, काभ्रेबाट आएका छन् । उनले भनिन, “चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन् । ‘रिफरल केश’ पनि छन् । हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ ।”

त्यसै गरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा.सुरेशन नेपालले जानकारी गराए । पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ । तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पतालका निर्देशक डा रवि शाक्यले जानकारी दिए । उनले भने, “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”

सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ । उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्