बाढी पहिरोमा सम्पर्क बिच्छेद भएको ललितपुरका बिकट क्षेत्रको विवरण आउन थाल्यो, ४० जनाको मृत्यु
काठमाडौं– ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पर्ने विकट स्थानमा असोज १२ गतेको बाढी पहिरोका कारण मृत्यु हुनेको विवरण आउन थालेको छ।
विपदका बेला सम्पर्क बिच्छेद भएको उक्त स्थानहरूमा ब्यापक क्षति भएको अनुमान गरिएको थियो।
महाँकाल गाउँपालिकामा मंगलबार मात्र ६ जनाको शव निकालेपछि मृतकको संख्या ४० पुगेको छ।
एकै परिवारका चारसहित अन्य दुई जनाको मृत्यु भएको विवरण आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
माहाँकाल गाउँपालिका–२ ठोस्ने खोला ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षीया छोरी सलिनाको मृत्यु भएको छ।
माहांकाल गाउँपालिका वडा नम्बर २ लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तानको पनि मृत्यु भएको छ ।
माहाँकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव फेला परेको छ। उनी असोज १२ गतेदेखि बेपत्ता थिए। उनका आमा र श्रीमती सम्पर्कविहीन छन्।
ललितपुर जिल्लामा अझै १० जना सम्पर्कविहीन छन्। बेपत्ताको सूचीमा थपिएकाहरुमा ललितपुरको माहाँकाल गाउँपालिका २ बस्ने १२ वर्षीया सन्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र वडा नम्बर २ कै छविलाल स्याङ्तानकी भाउजू छन्।
मकवानपुर जिल्ला नजिक रहेको ललितपुरको बागमती गाउँपालिका १ घुसेलका ५० वर्षीय केशव न्यौपाने पनि बेपत्ता छन्।
बाढी पहिरोमा परी तीन जना घाइते छन्। घाइतेहरुमा रौतहट घर भई ललितपुर महानगरपालिका १४ बस्ने ६ वर्षीया मेघना साह, गोदावरी नगरपालिका ७ बस्ने ३४ वर्षीया ठुलीमाया रुम्बा र काठमाडौं महानगरपालिका ३१ घर भई हाल ललितपुरको बागमती गाउँपालिका ४ प्युटार बस्ने ४५ वर्षीय भूषण अर्याल छन्।
यसबाहेक ललितपुरकै कालिकोट मानिने अन्य क्षेत्रको विवरण आउन बाँकी रहेको छ।